विश्वकपमा जापानको तीनै खेलको भविष्यवाणी मिलाएको अक्टोपस मारियो

Posted on: 02 Jul, 2018

असार १८, काठमाडौं । विश्वकपमा जापानको समूह चरणका तीनवटै खेलको भविष्यवाणी मिलाएको अक्टोपसलाई नकआउट चरणको खेल सुरु हुनुअघि नै मारिएको छ ।

जापानमा राबिओट नामको उक्त अक्टोपसले समूह चरणका कोलम्बिया, पोल्याण्ड र सेनेगलसँगको खेलको नतिजा मिलाएको थियो । तर नकआउट चरणका खेलको अनुमान गर्नु अघि नै उक्त अक्टोपस काटेर बजारमा बेच्न लगिएको सोरा न्युजले जनाएको छ ।

अक्टोपस विश्वकप सुरु हुनुअघि जापानको ओबिराबाट समातेर ल्याइएको थियो । जसको नाम फ्रान्सका मिडफिल्डर एडि्रयन राबिओटको नामबाट राखिएको हो ।


खेलको भविष्यवाणी गर्ने समय अक्टोपसलाई झण्डै साढे ६ फुट पानी भएको कृत्रिम पोखरीमा राखिन्थ्यो । जसको तीन छेउमा जित, हार र बराबरी लेखेर राखिएको हुन्थ्यो । त्यसमा अक्टोपस जुन स्थानमा जान्छ त्यसैका आधारमा नतिजा अनुमान गरिन्थ्यो ।

उक्त अक्टोपस माछा मारेर बेच्ने काममा संलग्न किमियोले समातेर ल्याएका थिए । यसैले उनले नै आफ्नो बिजनेस चलाइराख्नका लागि अक्टोपस काटेर बजारमा बेचेको बताएका छन् ।

जापानले अन्तिम १६ को खेलमा सोमबार राति बेल्जियमको सामना गर्दै छ । सन् २०१० को विश्वकपमा पनि पोउल नामको अक्टोपस निकै चर्चामा आएको थियो । जसले सबैजसो खेलको भविष्यवाणी मिलाएको बताइन्छ । जुन अक्टोपस २०१० को अक्टोवरमा मरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!