आज त्रिकोणात्मक टी-२० सिरिजः नेपालले आजै नेदरल्यान्ड र एमसीसीसँग खेल्दै

Posted on: 29 Jul, 2018

साउन १४, काठमाडौँ | नेपालले आइतबार नेदरल्याण्ड र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट खेल्दै छ ।

क्रिकेटको ‘घर’ मानिने लर्ड्स मैदानमा नेपालले पहिलो खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे एमसीसीसँग खेल्ने छ भने आजै नेदरल्याण्डसँग साढे १० बजेदेखि खेल्ने छ । 

आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले अन्तर्राष्ट्रिय श्रृंखला खेल्न लागेको यो पहिलोपटक हो । नेपाल र नेदरल्याण्डबीचको यो मैत्रीपूर्ण खेललाई आईसीसीले अन्तर्राष्ट्रिय टी-२० को मान्यता दिएको छ ।

नेपाली टोलीका कप्तान पारस खड्काले आजको खेल महत्वपूर्ण भएको बताउँदै जित्ने लक्ष्यसहित मैदान उत्रिने बताएका छन् । नेपालले दुई वर्ष अगाडि पनि लर्ड्स मैदानमै पुरानो क्लब एमसीसीसँग मैत्रीपूर्ण खेल खेलेको थियो जसमा नेपाल ४१ रनले विजयी भएको थियो ।

त्रिकोणात्मक श्रृंखलापछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ । त्यहाँ बुधबार र शुक्रबार नेपाल र नेदरल्याण्डबीच खेल हुने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!