महिला भलिबल लिग असोजमा हुने

Posted on: 04 Sep, 2018

भदौ १९, काठमाडौँ | महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाडौँमा हुने भएको छ । 

नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’ हुन लागेको हो । 

उक्त प्रतियोगिता राखेपको कभर्डहलमा असोज १३ देखि १७ गतेसम्म हुने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए । 

 प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मीका साथै चितवन टाइगर्स, पोखरा पिन्केज र न्यू डायमण्ड क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको समूह ‘ए’ मा चितवन, न्यू डायमण्ड र आर्मी तथा समूह ‘बी’मा पुलिस, एपीएफ र पोखरा छन् । लिगको विजेताले रु ६ लाख, उपविजेताले रु ३ लाख तथा तेस्रो हुनेले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । यो भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि हो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटरसहित रु ५० हजार पुरस्कार दिइनेछ । 

सोमबार एक कार्यक्रमका बीच प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधीअबाधी फाउण्डेशनका प्रमखु कार्यकारीे दिनेशकुमार सिंहले संयुक्तरूपमा उक्त ट्रफी सार्वजनिक गरे । 

प्रतियोगितामा सहभागी टोलीले तीन÷तीन विदेशी खेलाडीसमेत राख्न पाउने महासचिव चन्दले जानकारी दिनुभयो । प्रतियोगिता आयोजना गर्न सङ्घ र आधीअबाधीबीच गत साउन १७ गते दश वर्षका लागि सम्झौता भएको थियो । सो सम्झौताअनुसार आधीअबाधीले नेपाल भलिबल सङ्घलाई प्रत्येक वर्ष रु १५ लाख प्रदान गर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!