साफ च्याम्पियनसिप सेमीफाइनल: नेपाल vs माल्दिभ्स, पाकिस्तान vs भारत

Posted on: 09 Sep, 2018

भदौ २४, काठमाडौं | साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल नेपाल र माल्दिभ्सबीच हुने भएको छ । आइतबार भएको समूह बीको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई २-० गोलले पराजित गरेपछि नेपालले माल्दिभ्स प्रतिद्वन्द्वी पाएको हो ।

आइतबार भएको एकपक्षीय खेलमा भारतका लागि निखिल पुजारी र मनभीर सिंहले एक/एक गोल गरेका थिए । भारत पनि समूह बीको विजेताका बन्दै सेमिफाइनलमा पुगेको छ । उक्त ग्रुपबाट श्रीलंका भने बाहिरिएको छ । 

माल्दिभ्स र श्रीलंकाको समान एक/एक अंक भए पनि माल्दिभ्सले गोल अन्तरका आधारमा अन्तिम चारमा स्थान बनाएको हो । माल्दिभ्स र श्रीलंकाले एकापसमा गोलरहित बराबरी खेल्दा भारतसँग समान २-० गोलको हार भोगेका थिए। गोलअन्तर र हेड टु हेडतर्फ दुवै टिमको समान अंक भएपछि टसबाट समूह उपविजेता टुंगो गरियो । त्यसक्रममा माल्दिभ्सले टस जित्दै अन्तिम चारको यात्रा तय गर्न सफल भयो । उता पाकिस्तान र भारतको सेमिफाइनलमा सामना हुने भएको छ । 

साफ च्याम्पियनशिप अन्तर्गत सेमिफाइनल खेलको पहिलो खेल बुधबार नेपाल र माल्दिभ्स बीच हुनेछ भने सोही दिन अर्को खेलमा भारतले पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने भदौ ३० गते शनिबार हुनेछ ।

यस्तो छ समूह चरणको अंक तालिका: 


सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको हो । नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो । यसअघि नेपाल १९९९, २०११ र २०१३ मा अन्तिम चारमा पुगेको नेपाल अहिलेसम्म साफ च्याम्पियनशिपमा बिजेता बन्न सकेको छैन । १९९३ को सार्क गोल्डकपको खेलमा नेपाल तेस्रो भएपनि त्यति बेला चार राष्ट्रले मात्र भाग लिएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!