एकदिवसीय क्रिकेट: नेपाल २५ रनले विजयी

Posted on: 16 Sep, 2018

भदौ ३१, काठमाडौँ | भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । 

आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा सवै विकेट गुमाउँदै १८९ रन बनायो । एक सय ९० रनको विजयी लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको यू–१९ टोलीले ४७ दशमलव चार ओभरमा एक सय ६४ रन मात्र बनायो । 

यसअघि टस हारेर ब्याटिङ गर्ने क्रममा नेपालका लागि पवन सर्राफले अविजित ७८ रन जोडे । उनले ९६ बल खेल्दै एक छक्का र १० चौका हाने । सन्दीप जोराले २८, रसिद खानले २४, लोकेश बमले १६ तथा भीम सार्कीले १३ रन बनाए । बलिङतर्फ अफगानिस्तानका मोहम्मद कबिरले तीन तथा अबिद मोहमदी र अरिफ खानले २÷२ विकेट लिए । 

अफगानिस्तानका कप्तान इजाज अहमद मेहरानले ५९ रन बनाए । रेयाज हसनले ३८ र अबदुल रहमान रहमानीले ३७ रन जोडे । बलिङतर्फ नेपालका सागर ढकालले चार तथा रसीद खान र कमलसिंह ऐरीले दुई÷दुई विकेट लिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!