टी-२० विश्वकप छनोट: नेपालद्वारा ऐतिहासिक प्रदर्शन, २९ रनमै म्यानमार अलआउट

Posted on: 03 Oct, 2018

असोज १७, काठमाडौं । टी-२० विश्वकपको एसिया ‘बी’ छनोटको पहिलो खेलमा म्यानमारले नेपाललाई मात्र ३० रनको झिनो लक्ष्य दिएको छ । 

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको म्यानमारलाई नेपालले १० ओभरमै अलआउट बनाउन सफल भएको हो । १० ओभरसम्म टिकेको म्यान्मारले जम्मा २९ रन मात्र बनाउन सक्यो । 

खेलमा म्यानमारलाई अलआउट गर्ने दौडमा नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिन सफल भए । त्यस्तै ललित राजबंशीले ३ विकेट लिए भने करण केसी र ललित भण्डारीले एक-एक विकेट लिएका थिए । 

म्यानमारको लागि लिन अंङले सर्वाधिक १६ रन जोडे भने नेपालले ६ जना ब्याट्समेनलाई शून्य रनमै आउट गराउन सक्यो । 

दुई वर्षपछि अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप खेल्ने आकांक्षा राखेको नेपाली क्रिकेट टिम त्यसको पहिलो खुट्किलो पार गर्ने लक्ष्यका साथ मलेसियामा खेल्दैछ । पारस खड्काको कप्तानीमा उक्त टोलीले यस पटक छनोट खेलको च्याम्पियन बन्ने दाउमा छ । 

विश्वकप एसिया छनोट ‘बी’ मा नेपालसँगै आयोजक मलेसिया, सिंगापुर, भुटान, चीन, म्यानमार र थाइल्याण्ड छन् । समुहका शीर्ष तीन टोली अर्को चरणमा पुग्नेछन् । एसियाली छनोट ‘ए’बाट यूएई, कतार र कुवेत शीर्ष तीनमा आइसकेका छन् । समूह ‘बी’बाट तीन टोली थपिएर ६ देशबीच खेल हुनेछ र त्यसमा शीर्ष दुई टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!