सिङ्गापुरले नेपाललाई दियो जितका लागि ८२ रनको लक्ष्य

Posted on: 12 Oct, 2018

असोज २६, काठमाडौँ | आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ अन्तर्गत छनोट चरणको अन्तिम खेलमा सिङ्गापुरले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ । 

मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिङ्गापुरले १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनको योगफल बनायो । सिङ्गापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ रनको योगदान दिए । ३२ बल खेल्दै उनले ३ चौका प्रहार गरे । त्यसैगरी मनप्रीत सिङ र सिद्वान्तले समान १०÷१० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । 

बलिङतर्फ नेपालका सन्दीप लामिछाने एक्लैले ४ विकेट लिए । त्यस्तै सोमपाल कामी र करण केसीले २÷२ विकेट झारे भने ललित राजबंशी र वसन्त रेग्मीले १÷१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । एशिया छनोट समूह ‘बी’ बाट दोस्रो चरणको छनोटमा पुगिसकेका नेपाल र सिङ्गापुरका लागि आजको प्रतिस्पर्धा उपाधि रक्षाका लागि हुँदैछ । 

यस खेलको विजेताले प्रतियोगिताको उपाधि रक्षा गर्नेछ । नेपालको लक्ष्य पनि सिङ्गापुरविरुद्धको खेल जित्दै उपाधि रक्षा गर्ने हो । यसअघि खेलेका पाँच खेलमा नेपाल अपराजित टोली हो । प्रतियोगिताको पहिलो खेलमा नेपालले असोज १७ मा म्यान्मालाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै नेपालले दोस्रो खेल २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भूटान तथा २४ गते चीनलाई पराजित गरेको थियो । यसअघिका खेलको पाँच खेलमा सिङ्गापुर पनि अपराजित टोली हो । नेपाल र सिङ्गापुरले समान पाँच खेलबाट १०÷१० अङ्क जोडेका छन् । रनरेटका आधारमा नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!