सन्दीप पहिलो पटक विकेटविहीन, सन्दीपको टिम पराजित

Posted on: 27 Nov, 2018

मङ्सिर ११, काठमाडौं । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले युएईमा जारी टी–टेन लिग क्रिकेट प्रतियोगितामा पहिलो पटक विकेटविहीन भएका छन् । 

युएईको शारजाह क्रिकेट स्टेडियममा सोमबार राति भएको खेलमा सन्दीप लामिछानेको टिम केरला किंग्स पन्जाविक लेजेन्डस्सँग ३६ रनले पराजित भएको हो । १०८ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको केरलाले ८.२ ओभरमा सबै विकेटको क्षतिमा ७१ रन मात्रै बनाउन सक्यो ।

केरलाका लगि क्रिस गेलले ३५ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि बटुल्न सकेनन् । नेपालका सन्दीप लामिछाने एक रनमा अविजित रहे । केरलालाई सस्तैमा समेट्ने क्रममा पन्जाविकका हसन खानले ४ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाविकले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा १०७ रन बनाएको थियो । पञ्जाविकका लागि उमर अक्मलले ३० रन बनाएका थिए ।

बलिङतर्फ मोहम्मद नाभिदले २ विकेट लिए । नेपालका सन्दीप भने यो खेलमा महंगो सावित भए । उनले २ ओभरमा २८ रन खर्चिए ।

सन्दीपले यसअघिका तीन खेलमा लगातार विकेट लिएका थिए । राजपुतस्विरुद्ध २ विकेट लिएका थिए । त्यस्तै, केरलाले आफ्नो पहिलो खेलमा पख्तुन्सलाई ८ विकेटले पराजित गर्दा सन्दीपले ३ विकेट लिन सफल भएका थिए । सन्दीपले आफ्नो दोस्रो खेलमा पनि १ विकेट लिन सफल भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!