नेपाललाई ऐतिहासिक सफलता, विश्वविजेता बने नेपाली

Posted on: 16 Dec, 2018

पुष १, काठमाडौं । १० औं विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । थाइल्यान्डमा आयोजित प्रतियोगितामा ७५ केजी तौल समुहमा नेपालका महेश्वर महर्जनले स्वर्ण जितेका हुन् । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता हो ।

मानन्धरको समुहमा १२ राष्ट्रका बडीबिल्डरहरु प्रतिस्पर्धामा थिए । उनीहरुबाट टप ५ को छनोट गरिएको थियो । टप ५ मा नेपालसहित भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडीबिल्डर थिए । शनिबार लोटस होटलमा भएको फाइनल राउन्डमा महर्जनले अन्य प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जित्न सफल भए ।

भारतका जयप्रकाशले दोस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो भने सिंगापुरका खेलाडी तेस्रो भएका थिए । थाइल्यान्ड चौंथो र उज्बेकिस्तान पाचौं भए ।

३५ वर्षका महर्जनले यसअघि भुटानमा आयोजित ५० औं एसियन बडिबिल्डिङ च्याम्पियनसीपमा पनि स्वर्ण जितेका थिए । उनी नेपालमा हुने बडिबिल्डिङ प्रतियोगिता धर्मश्रीको १३ औं संस्करणका विजेता हुन् भने यसपालीको धर्मश्रीमा पनि ७५ केजी समूहमा उनले स्वर्ण जितेका थिए ।

एसियन च्याम्पियनसीपमा गोल्ड मेडल जितेको आधारमा एसोसिएशनले थाइल्यान्डमा महर्जनलाई पठाउने निर्णय गरेको थियो । यसका लागि ६ महिनादेखि उनले तयारी गरिरहेका थिए ।

महर्जनले ६ महिना अगाडिदेखि नून खान छोडेका थिए । 

महर्जनले भात खान त निकै अगाडिदेखि छाडेका थिए । यस्तै चिल्लो–पिरो पनि बारेका थिए । उनी दैनिक ३० वटा अन्डा (सेतो भाग मात्र) खान्थे भने एक किलो कुखुराको ब्रेस्ट खान्थे । दैनिक ८ घन्टा जिम गर्थे ।

राजभण्डारीका अनुसार प्रतियोगिताको केही दिन अगाडिदेखि खेलाडीहरुले सामान्य पानीसमेत पिउँदैनन् । उनीहरु ब्याट्रीमा हालिने डिस्टिल्ड वाटर मात्र पिउँछन् । महर्जनले पनि यसै गरेका थिए ।

काठमाडौंको छाउनीमा घर भएका महर्जन लामो समयदेखि शारीरिक सुगठनमा छन् । सामान्य किसान परिवारमा जन्मेका उनी सानोमा ख्याउटे थिए । कक्षा नौमा पढ्दा नरदेवीको यूनिभर्सल जिमबाट उनले शारीरिक व्यायाम सुरु गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!