तेस्रो टेस्ट क्रिकेटमा सात वर्षीय बालकले गरे अष्ट्रेलियन क्रिकेट टिमको कप्तानी

Posted on: 26 Dec, 2018

पुष ११, मेलबर्न | अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा सात वर्षीय बालकलाई अस्ट्रेलियन टोलीको कप्तानको भूमिका दिईएको छ । बुधबार भएको पहिलो दिनको खेलमा क्रिकेट अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्टमा सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिएको हो । 

अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट खेलका क्रममा बुधबार मेलबर्न क्रिकेट मैदानमा बालकलाई टस गर्नसँगै लगियो भने कप्तानको क्यापसमेत दिइएको थियो । 

खेलमा नियमित कप्तान टिम पाइनसँगै आर्चीले पनि संयुक्त रूपमा कप्तानको जिम्मेवारी निर्वाह गरे । 

भारतीय टोलीको नेतृत्व भने विराट कोहलीले गरेका छन् । क्रिकेट अस्ट्रेलियाले आइतबार नै सात वर्षीय बालक आर्चीलाई कप्तान बनाउने निर्णय गरेको थियो । यसको चर्चा विश्वभरका सञ्चारमाध्यममा छाएको थियो ।


यस्तो छ कारण 

आर्ची सानै उमेरदेखि मुटु रोगबाट ग्रसित छन् । थुप्रै पटक उनको मुटुको गम्भीर शल्यक्रिया भइसकेको छ । आर्ची केवल तीन महिनाको हुँदा चिकित्सकले उनको मुटुको भल्बमा समस्या रहेको पत्ता लगाएका थिए । 

त्यसपछि सात घण्टा लगाएर आर्चीको मुटुको शल्यक्रिया गरिएको थियो । त्यसको ६ महिनापछि आर्चीको मुटुको धडकनमा पुनः समस्या देखिएको थियो । क्रिकेट भनेपछि हुरुक्कै हुने आर्चीको मुटुको गम्भीर समस्याका कारण क्रिकेट खेल्ने सपना पुरा नहुने देखेपछी उनको सपना पुरा गर्न अष्ट्रेलियन क्रिकेट टिमको कप्तानीको भूमिका दिईएको हो । 

केही समयअघि आर्चीका पिताले आर्चीसँग उनको सपनाबारे सोध्दा आर्चीले कप्तानका रूपमा अस्ट्रेलियन क्रिकेट टोलीको नेतृत्व गर्नु आफ्नो सपना रहेको बताएका थिए। 

उनको रोग र सपनाको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि त्यही सपना पूरा गर्न भारतविरुद्ध तेस्रो टेस्टमा आर्चीलाई अस्ट्रेलियन टोलीको कप्तान बनाइएको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!