राष्ट्रिय क्रिकेट टोली घोषणा

Posted on: 31 Dec, 2018

पुस १६, काठमान्डौ (रासस) |  आगामी महीनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ट्वेन्टी ट्वेन्टी शृङ्खलाका लागि प्रारम्भिक चरणमा २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ । 

नेपालले आगामी माघमा यूएईसँग तीन खेलको एक दिवसीय र तीन खेल ट्वेन्टी ट्वेन्टी शृङ्खलाका खेल खेल्दैछ । आइसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कासहितको छनोट समितिले २० सदस्यीय टोलीको आज घोषणा गरेको हो । छनोट हुने टोलीको कप्तानमा पारस खड्का छन् । अन्य सदस्यमा वसन्त रेग्मी अविनाश बोहरा, भीम सार्की, विक्रम सोब, दीपेन्द्रसिंह एरी, विनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, करण केसी र ललित भण्डारी छन् । 

ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, रोहीतकुमार पौडेल प्रदीप ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, शुशन भारी, शरद भेषावकर र सन्दिप जोरा छन । नेपालले माघ ११ देखि २० गतेसम्म युएईसँग खेल्नेछ । भीम सार्की, सन्दिप जोरा र पवन सर्राफले राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा पहिलो पटक समावेश भएका हुन ।खेलमा पहिले एक दिवसीय र त्यसपछि टी ट्वेन्टी शृङ्खला हुनेछ । नेपालले अघिल्लो वर्ष जिम्बाबेमा सम्पन्न विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!