गोकर्णेश्वर मेयर कप फुटबल प्रतियोगिता शुरु

Posted on: 06 Jan, 2019

पुष २२, काठमाडौँ (रासस) | गोकर्णेश्वर नगरपालिकाको सहकार्य तथा जोरपाटी फुटबल क्लबको आयोजनामा वडास्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । 

गोकर्णेश्वर नगरपालिकाभित्र खेलकूदको विकास गर्ने उद्देश्यका साथ शनिबारदेखि शुरु भएको उक्त प्रतियोगिताको नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो । कार्यक्रममा नेता सिंहले खेलाडीले सिकेका सीपलाई प्रयोग गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो नाम चिनाउन यस्ता खेलकूद प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले मुलुकको खेल क्षेत्रमा गोकर्णेश्वर नगरपालिकाको नाम पुर्याउनका लागि नीति र कार्यक्रममा खेल क्षेत्रलाई समावेश गरेर अगाडि बढ्न सुझाव दिनुभयो । 

काङ्ग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतले राष्ट्रको सम्मान बढाउने महत्वपूर्ण पक्ष भनेको खेल जगत् भएकाले यसको विकासका लागि सरकार लाग्नुपर्ने बताउनुभयो । 

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले फुटबलको विकासका लागि नगरपालिकाले रु एक करोड २० लाख लागतमा दुई फुटबल मैदान निर्माण गर्न लागेको जानकारी दिनुभयो । 

जोरपाटी फुटबल क्लबका अध्यक्ष दीपक लामाले नगरपालिकासँग सहकार्य गरेर फुटबलको विकासका लागि आफुहरुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एक हप्तासम्म चल्ने उक्त प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाभित्रका १४ वडाका १४ टिमको सहभागिता रहनेछ । कार्यक्रममा राष्ट्रियस्तरका खेलाडीलाई सम्मानसमेत गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!