थाइल्याण्डमा हुने महिला क्रिकेट : उद्घाटन खेलमा नेपालले चीनसँग खेल्ने

Posted on: 11 Jan, 2019

 पुस २७,काठमाडौँ | थाइल्याण्डमा हुने महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली महिला टोलीले चीनको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । 

भोलि शनिबारदेखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भुटान र म्यान्मा छन् । 

नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने छ भने अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

नेपाली टोलीमा कप्तानको भूमिका रुविना क्षेत्री रहनुभएको छ । उपकप्तानको जिम्मेवारी सीता रानामगरले पाएकी छिन् । त्यसैगरी टोलीको अन्य सदस्यमा करुणा भण्डारी, डोली भट्ट, ममताकुमारी चौधरी, बिन्दु रावल, सरिता मगर र नेरी थापा हुनुहुन्छ । 

अन्य खेलाडीमा त्यस्तै इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर हुनुहुन्छ । वैकल्पिकतर्फ रीताकुमारी कञ्जुनिया, सुमन विष्ट र सवनम राई हुनुहुन्छ । टोलीको प्रशिक्षकमा विनोद दास हुनुहुन्छ । प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली आजै त्यसतर्फ प्रस्थान गर्नेछ ।  रासस |


यस बिषयमा तपाइको प्रतिक्रिया...!