नेपाल उपविजेतामै सीमित: आयोजक थाइल्याण्डसँग ७० रनले पराजित

Posted on: 19 Jan, 2019

माघ ५, काठमाडौँ | नेपाललाई ७० रनले पराजित गर्दै आयोजक थाइल्याण्डले थाइल्याण्ड टि–२० स्म्यास क्रिकेटको उपाधि जित्न सफल भएको छ । 

टेर्ड थाई मैदानमा आज भएको फाइनल खेलमा १२२ रनको विजयी लक्ष्य पच््छयाउने क्रममा नेपालले ५१ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । नेपालको शुरुवात राम्रो हुन सकेन । ओपनर काजल श्रेष्ठ रन आउट हुँदै पहिलो ओभरमा एक रन बनाएर आउट भइन् भने लगत्तै दोस्रो ओभरमा इन्दु बर्मा खाता नखोल्दै एलबिडब्लु आउट भइन् । 

पाँचौ ओभरमा प्रतियोगितामा उत्कृष्ट लयमा रहेकी सीता राना मगरले १३ तथा नेरी थापाले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । त्यस्तै रोमा थापा दुई, सरिता मगर पाँच तथा कप्तान रुबिना क्षेत्री पाँच करुना भण्डारी चार रन र डली भट्ट, कविता कुँवर खाता नखोली आउट हुँदा नेपाल १७.२ ओभरमा ५१ रनमा समेटिन पुग्यो । 

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । घरेलु टोलीले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १२१ रन बनाएको थियो । घरेलु टोलीका लागि नाथचन चनथमले सर्वाधिक ६९ रन बनाइन् । यस्तै नरुमोल चवाइले २७ र चानिदा सुथिरङले नटआउट १९ रन बनाइन् । 

समूह चरणमा अपराजित र सेमिफाइनलमा इन्डोनेसियालाई हराएको नेपाल उच्च मनोबलमा रहेको थियो । शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको थियो । 

अन्तर्राष्ट्रिय सहभागिताको १२ वर्षमा दोस्रो पटक उपाधि नजिक पुगेको नेपालको उपाधि जित्ने सपना यस पटक पनि पुरा हुन सकेन । यसअघि सन् २००७ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता एसिसी वुमेन्स च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग फाइनलमा पराजित भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!