पहिलो एकदिवसीय क्रिकेटमा युएईद्वारा नेपाल ३ विकेटले पराजित

Posted on: 25 Jan, 2019

माघ ११, काठमाडौँ | युएईविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल ३ विकेटले पराजित भएको छ । दुबईस्थित आइसीसी क्रिकेट एकेडेमीको मैदानमा शुक्रबार भएको खेलमा ११४ रनको सामान्य चुनौती पछ्याउदै युएईले ३२ ओभर १ बलमा ७ विकेटको क्षतिमा नेपाललाई पराजित गर्न सफल भएको हो ।

नेपालले बलिङ राम्रो गरेपनि युएईका लागि आठौं विकेटमा अमिर हायात र इम्रान हैदरबीच अविजित ४३ रनको साझेदारी भएपछि नेपालले आफ्नो पराजय टार्न सकेन । हायातले २४ तथा हैदरले १८ रन जोडे ।

युएईले ७३ रन जोड्दा ७ विकेट गुमाइसकेको भएपनि त्यसपछिका ब्याट्सम्यानहरुले आक्रमक रन जोड्न सके । खेलमा पारस खड्का, सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल ३३ ओभर ५ बलमा ‘अलआउट’ हुँदै ११३ रनमा समेटिएको थियो । नेपालका लागि सोमपाल कामीले ३० रन, आरिफ शेखले २५ रन, पारस खड्काले २० रन र सन्दीप लामिछानेले १५ रन बनाए । नेपालको विकेट लिने क्रममा युएईका मोहम्मद नाभिद र अमीर हायातले ३/३ विकेट लिए ।

नेपालले युएईसित तीन खेलको एकदिवसीय शृंखला खेलिरहेको हो । अब दोस्रो खेल शनिबार हुनेछ । तेस्रो खेल सोमबार हुनेछ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!