नवलपरासीदेखि विश्व कीर्तिमानसम्म रोहित

Posted on: 28 Jan, 2019

कुमार चौलागाईं | माघ १४, काठमाडौँ (रासस) | नेपाली राष्ट्रिय क्रिकेट टोली दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) जानुअघि रोहितकुमार पौडेलको नाम सुन्ने कमै नेपाली क्रिकेटका फ्यान थिए । 

अहिले यूएइविरुद्धको दोस्रो खेलमा सबैभन्दा कम उमेरमा अर्धशतकीय पारी खेल्ने विश्व रेकर्ड कायम गरेपछि उनको चर्चा एकाएक चुलिएको छ । उनको चर्चा चुलिनुमा कम उमेरमा अर्धशतक मात्र होइन विश्व क्रिकेटका महानहस्तीद्वय भारतका सचिन तेन्तुलकर र पाकिस्तानका शाहीद अफ्रिदीको रेकर्ड तोड्नुले पनि रहेको छ । 

रोहितले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अर्धशतक पूरा गर्दा रोहित १६ वर्ष १४६ दिनका छन् । उनले ५५ बलमा अर्धशतक पूरा गरेर युएईविरुद्ध ५५ रन बनाएर आउट भए । 

यसअघि सचिनले १६ वर्ष २१३ दिनको हुँदा एकदिवसीयमा अर्धशतक बनाएका थिए । यस्तै अफ्रिदीले १६ वर्ष २१७ दिन हुँदा अर्धशतक बनाएका थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक पूरा गर्ने विश्वकै कान्छो खेलाडी बन्ने विश्व रेकर्ड कायम गरेका रोहित नवलपरासीका हुन् । उनले बाल्यकालमा नवलपरासीमै क्रिकेट खेलेका थिए । 

नवलपरासीमा रहँदा रोहितले टेनिस बल क्रिकेट खेल्न शुरु गरेका थिए । क्रिकेट भनेपछि भुतुक्कै हुने उनले पढाइभन्दा क्रिकेटलाई बढी महत्व दिन थालेपछि रोहितका बाबु कुमार पौडेल र दाई राजु पौडेलले उनलाई काठमाडौँ क्रिकेट सिक्न पठाउने निर्णय गरेका थिए । 


काठमाडौँ आएपछि रोहितले बालुवाटार क्रिकेट एकेडेमीमा भर्ना भएर क्रिकेट सिक्न थाले । बालुवाटारस्थित एकेडेमीमा रोहितले एक वर्ष कठिन मेहनत गरे । त्यसपछि रोहितले तीन महिना दिल्लीमा पनि क्रिकेट प्रशिक्षण गरेका रोहितका दाजु राजुले बताउनुभयो । 

सन् २०१६ मा श्रीलङ्कामा सम्पन्न यू–१९ एशिया कप प्रतियोगिताको लागि टिम छनौट गर्न देशभर ‘ट्यालेन्ट हन्ट’को आयोजना गरिएको थियो । त्यसै क्रममा रोहित भैरहवामा आयोजित ‘ट्यालेन्ट हन्ट’ मा पुगे । प्रशिक्षक विनोद दास र जगत टमाटाले उनको प्रतिभा पहिलो पटक देखेपछि छनोट हुन सफल भएका थिए । 

“रोहितका प्रतिभा देखेपछि उनलाई देशभरबाट चुनिएका ५२ खेलाडीको सूचीमा राखियो, ट्यालेन्ट हन्टमा छनौट भएका ५२ खेलाडीमध्येबाट २४ जना र २४ बाट श्रीलङ्का जाने यू–१९ राष्ट्रिय टिममा रोहित छनौट भएका थिए”, पूर्व राष्ट्रिय खेलाडी विनोद दास सम्झनुहुन्छ । 

उक्त प्रतियोगितामा भारतसँगको दोस्रो खेलमा रोहितले अविजित ६८ रनको इनिङ खेलेका थिए । उक्त खेलमा नेपाल पराजित भए पनि रोहितले भने आफ्नो क्षमता पहिलो पटक प्रदर्शन गरे । यु–१९ टिमको प्रदर्शनपछि नेपाली घरेलु टि–२० क्रिकेट प्रतियोगिताहरुमा रोजाइमा परेका रोहितले २०१७ को एभरेस्ट प्रिमियर लिगमा भैरहवा ग्ल्याडिएटर्सबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । 

त्यस्तै नेपालले २०१७ मा खेलेको यू–१९ विश्वकप छनौट तथा यू–१९ युथ एशिया कपमा रोहितले प्रतिनिधित्व गरे । यू–१९ एशिया कपमा नेपाल बङ्गलादेशसँग २ विकेटले पराजित हुँदा रोहितले शानदार ४० रनको इनिङ खेलेका थिए । 

त्यसैगरी २०१८ फेब्रुअरीमा नेपालले नामिबियामा खेलेको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशिपमा रोहितले नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गर्ने मौका पाए । उक्त प्रतियोगितामा रोहितले केन्यासँगको खेल नेपाललाई कठिन परिस्थितिमा ब्याटिङ गर्दै जिताएका थिए । नेपालको १७८ रन लक्ष्य स्कोर ८२/५ पुगिसकेको थियो । त्यस क्रममा रोहितले सातौँ नम्बरमा ब्याटिङ गर्दै ४७ रनको शानदार इनिङ खेलेका थिए भने आरिफ शेखसँग छैठौं विकेटको लागि ८७ रनको साझेदारी गरेका थिए । 

नवलपरासी हुँदै काठमाडौँ र दिल्ली, भैरहवाको ट्यालेन्ट हन्ट हुँदै यु–१९ राष्ट्रिय टिमको यात्रा गरेका रोहितले त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन । कठिन परिस्थितिमा ब्याटिङ गर्न सक्ने अद्भूत क्षमता पाएका रोहित अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी बन्न सफल भएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!