यस्तो बन्दैछ नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला - हेर्नुस् १४ तश्वीर

Posted on: 30 Jan, 2019

माघ १६, काठमाडौँ | बुधबार काठमाडौँस्थित राष्ट्रिय सभागृहमा रंगशाला घोषणा कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेशन र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नाममा निर्माण घोषणा गरिएको क्रिकेट स्टेडियम निर्माणमा आजै सहमति पत्रमा हस्ताक्षर भएको हो । 


सम्झौतापत्रमा फाउन्डेशनका तर्फबाट सीताराम कट्टेल ‘धुर्मुस’ र भरतपुर हानगरपालिकाका मेयर रेणु दाहालले हस्ताक्षर गरे । कुल क्षेत्रफल २० विगाहा ८ कठ्ठामा बन्ने रंगशाला करिब ३ अर्ब लागतमा निर्माण हुने भएको हो । यो आयोजना गुरुयोजना तयार भएको २ वर्षभित्र बनिसक्ने फाउन्डेसनका प्रमुख धुर्मुसले बताए । उनको अनुसार अबको साढे २ बर्षमै यो निर्माण भई भरतपुर महानगरपालिकालाई हस्तान्तरण हुनेछ । धुर्मुसले रंगशाला विश्वकै नमुना बन्ने समेत बताए ।


कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले रंगशालाको उद्घााटन खेल भारत र पाकिस्तानबीच हुने बताइन् । मेयर दाहालले भनिन, ‘भारत र पाकिस्तानबीच राम्रो सम्बन्ध छैन । त्यसैले उनीहरु एक अर्को देशमा गएर क्रिकेट खेल्दैनन् । कहिले यूएई कहिले दुबईमा गएर खेल्नुपर्ने अवस्था छ । त्यसका लागि लामो दूरी पार गर्नुपर्छ । यदि छिमेकी देश नेपालमा हामीले अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरेको खण्डमा हामी दुई ढुंगाबीचको तरुल बन्न सक्छौं ।’ 


रंगशाला निर्माण कार्यक्रममा नेकपा अध्यक्ष द्वय केपी ओली र पुष्पकमल दाहाल समेत उपस्थित थिए । त्यस्तै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, कांग्रेस महामन्त्री शशांक कोइराला, कलाकार मदनकृष्ण श्रेष्ठ लगायतले मन्तव्य दिएका थिए । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजना भएकाले यसका लागि आफ्नो तर्फबाट सबै खाले सहयोग हुने बताए । 


कार्यक्रमकै दिन आज फाउन्डेसनले ४ करोड उठाउन सफल भएको छ । जसमा ३ करोड सहयोग एस ट्राभल्सले दिने घोषणा गरेको छ । त्यस्तै अल्का अस्पताल जावलाखेलले २५ लाख, चितवन उद्योग वाणिज्य संघले ५१ लाख, रविराज सिंहले ११ लाख, अक्सफोर्ड कलेज बुटवलले ७ लाख, आर एम ग्रुपले ५ लाख, मुक्तिनाथ विकास बैंकले ५ लाख, मह सञ्चार तथा भद्रगोल टिमले १/१ लाख सहयोग दिने घोषणा गरेका छन् । त्यस्तै लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष बद्री पंगेनीले १ लाख १ हजार १ सय ११, प्याब्सनकी दिपिका थापाले १ लाख १० हजार, चक्रबहादुर चन्द, गोपाल निरौला र सरोज ओलीले १/१ लाख सहयोग गर्ने घोषणा गरेका छन् । यसरी आजै ४ करोडको प्रतिवद्धता आएको छ । अब २ सय ९६ करोड उठ्न पर्नेछ । 

कस्तो बन्नेछ रंगशाला ? 

- क्रिकेट खेल मैदान कमलको फूल आकारको हुनेछ । 

- रंगशालामा ४ वटा प्रवेशद्वार हुनेछन् । जसमा २५ हजार दर्शकहरु अट्ने क्षमता हुनेछ ।  

- रंगशालामा फुटबल, भलिबलसहित, नेपालको मौलिक खेल डण्डिवियोसम्म खेल्न सकिनेछ । 

- क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी रंगशालाभित्र नै रहनेछ । 

Cricket Stadium 3D Photos provided by Dhurmus Suntali Foundation.  

यस बिषयमा तपाइको प्रतिक्रिया...!