क्रिकेटमा फेरी अर्को एतिहासिक सफलता: टीट्वान्टी शृङ्खला पनि नेपालकै हातमा

Posted on: 03 Feb, 2019

माघ २०, काठमाडौं | नेपाली क्रिकेटले फेरी अर्को एतिहासिक सफलता हात पारेको छ । केहीबेर अघि संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै टीट्वान्टी शृङखलाको उपाधि पनि आफ्नो हातमा पार्न सफल भएको हो । यस अघि पनि नेपालले युएईकै विरुद्ध एक दिवसीय क्रिकेट शृङ्खला जितेको थियो  । 

आजको खेलमा नेपालको जितका लागि करण केसी, अविनाश बोहोरा, ललित राजबंशीले २/२ विकेट लिए भने सन्दिप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिए । 

टस जितेर पहिले फिल्ड रोजेको यूएईलाई अन्तिम खेलमा नेपालले ८ विकेटको क्षतिमा १०५ रनको लक्ष्य दिएको थियो । नेपालको यो स्कोर बनाउनमा कप्तान पारस खड्का र सन्दीप जोराको महत्वपूर्ण भूमिका रह्यो । खेलमा कप्तान पारस खड्काले १४ बलमा २९ रन जोडे भने सन्दिप जोराले ११ बलमा २८ रन्को योगफल तयार गरेका थिए । त्यस्तै बसन्त भण्डारीले २१ रन, ज्ञानेन्द्र मल्ल र सोमपाल कामीले समान ११/११ रन जोडे ।  

जितपछि रमाउंदै नेपाली समर्थकहरु / तश्वीर: ICC

१०५ रनको लक्ष्य पछ्याएको यूएईले राम्रो सुरुवात गरे पनि नेपालका लागि सोमपाल कामी, अविनाश बोहोरा र सन्दीप लामिछानेले महत्वपूर्ण विकेटहरु लिए । वर्षाका कारण आइतबारको खेल १० ओभरमा छोट्याइएको थियो । नेपालको सुरुवाती खेल खराब रहे पनि पाँचौ ओभरको खेल पछि खेल सम्हालिन पुग्यो । युएईको राम्रो स्कोर जोडेका खेलाडीहरुलाई बाहिर पठाउन सफल भएपछी नेपालले युएईको आक्रामक स्कोरलाई घटाउन सक्यो ।


क्रिजमा टिकेर महत्वपूर्ण स्कोर बनाउन सफल युएईका खेलाडीको विकेट लिएपछि युएई सुरुवाती ब्याटिङको लयमा फर्कन सकेन फलस्वरूप १०५ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले जम्मा ९० रनमै समेटिन पुग्यो । 

दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमी ओभलमा आज भएको खेल दुवै टोलीका लागि निकै महत्त्वपूर्ण थियो । अघिल्लो दुईमध्ये नेपाल र यूएईले एक-एक खेल जितेकाले आजको खेल जित्नुले नै शृंखलाको उपाधि आफ्नो हातमा पर्ने थियो तर उक्त जित नेपालको पक्षमा आयो । 

टीट्वान्टी शृङ्खलाको पहिलो खेलमा यूएई २१ रनले विजयी भएको थियो। दोस्रो खेल नेपालले चार विकेटले जित्दै शृंखला बराबरी गरेको थियो । नेपालले सन् २०१४ को टीट्‍वेन्टी विश्वकपपछि दुई वर्षका लागि टीट्‍वेन्टी टोलीको मान्यता पाएको थियो । सो अवसरमा नेपालले दुई टीट्‍वेन्टी शृंखलासमेत खेलेको थियो। यद्यपि नेदरल्यान्ड्स र हङकङविरुद्धको दुवै शृंखलामा नेपाल पराजित भएको नेपालका लागि आइतबारको जित एतिहासिक बनेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!