सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान

Posted on: 19 Feb, 2019

फागुन ७, अत्तरिया (रासस) | सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेल मैदान निर्माण तथा सुधार हुने भएको छ । सुदूरपश्चिम प्रदेशसभा निर्वाचनका ३२ स्थानमा खेल मैदान निर्माण एवम् सुधार कार्यक्रमअन्तर्गत खेल मैदान निर्माण हुने भएको हो । 

खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड ४० लाख बजेट विनियोजन गरेको जनाएको छ । एक खेल मैदानका लागि रु २० लाखको दरले ३२ वटै प्रदेशसभा निर्वाचन क्षेत्रका खेलमैदान निर्माणका लागि सो बजेट बजेट विनियोजन गरेको हो । 

चालू आर्थिक वर्षको असार मसान्तसम्म खेल मैदान निर्माण कार्य सम्पन्न भइसक्ने प्रदेश सामाजिक विकास मन्त्रालयको युवा तथा खेलकूद महाशाखा उपसचिव किसनराज चितुवालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक निर्वाचन क्षेत्रका निर्वाचित प्रदेश सांसदले सिफारिस गरेको स्थानमा खेल मैदान छनोट गरिएको हो । 

सुदूरपश्चिम प्रदेशका ३२ स्थानमध्ये कैलालीमा १० स्थानमा खेल मैदान निर्माण तथा स्तरोन्नति हुँदैछ । त्यस्तै कञ्चनपुरमा छ, अछाममा चार, बैतडीमा दुई, दार्चुलामा दुई, डडेल्धुरामा दुई, डोटीमा दुई, बझाङमा दुई र बाजुरामा दुई गरी ३२ खेलमैदान बन्ने सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् भने ३२ प्रदेशसभा निर्वाचन क्षेत्र छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!