शहीद स्मारक ‘बी’ डिभिजन लिग: आज दुई खेल हुँदै

Posted on: 22 Feb, 2019

फागुन १०, काठमाडौँ | शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत प्रतियोगिताको अन्तिम चरणका दुई खेल आज हुँदैछन् । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब भिड्दैछन् । समूह ‘ए’ को खेलमा आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । आजको खेलमा विजयी हुने टोली दोस्रो चरणमा पुग्ने छ । 

दुई खेल जीत र दुई बराबरी खेलेको झम्सिखेल आठ अङ्कसाथ तालिकाको शीर्षस्थानमा छ । एक खेल जीत र दुई बराबरीसाथ आरसिटी तेस्रो स्थानमा छ । आजै हुने दोस्रो खेलमा अघिल्लो चरण पुगिसकेको टुसाल युथ क्लबले पुल्चोक स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’को खेलमा शीर्षस्थानको टुसाल क्लब एक खेल अघिनै अघिल्लो चरणमा पुगिसकेको हो । 

टुसालको तीन खेल जीत र एक बराबरी साथ १० अङ्क रहेको छ । पुल्चोकको भने दुई जीत, दुई हारका साथ समूह ‘बी’को चौथो स्थानमा छ । जीत हासिल गरेमा पुल्चोकको अघिल्लो चरण प्रवेशको सम्भावना बाँकी रहनेछ । राउण्ड रोबिन लिगका आधारमा खेलाइएको प्रतियोगिताको दुई समूहका विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश पाउनेछन् । 

लिगको विजेता टोलीले आठ लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विधागत तर्फका उत्कृष्ट रक्षक, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही रु २५ हजार प्राप्त गर्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!