कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी

Posted on: 25 Feb, 2019

फागुन १३, सुर्खेत | कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी रहेको छ । 

प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशले राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन ११ गतेदेखि सञ्चालन गरेको ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता २०७५’ अन्तर्गत सुर्खेतमा आठ खेलमा प्रतिस्पर्धा भइरहेको प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशका प्रचारप्रसार समिति संयोजक अर्जुनजङ्ग शाहीले जानकारी दिनुभयो । 

“सुर्खेतमा फुटबल, क्रिकेट, एथ्लेटिक्स, खोखो, बास्केटबल, ब्याडमिन्टन, ह्याण्डबल र तेक्वान्दो खेलको प्रतिस्पर्धा भइरहेको छ”, संयोजक शाहीले भन्नुभयो, “ती खेल यही १७ गतेसम्म सञ्चालन हुनेछन् ।” त्यस्तै, कबडी र तेक्वान्दो महिला तथा पुरुष खेल दैलेखमा, टेबलटेनिस, पुरुष भलिबल र बुद्धिचाल सल्यानमा, महिला भलिबल जाजरकोटमा, बक्सिङ कञ्चनपुरमा र उसु दाङ जिल्लामा सञ्चालन भई यही फागुन २५ गतेसम्म सम्पन्न गरिने उहाँले बताउनुभयो । 

सुर्खेतमा भएको खेलमा महिला फुटबलमा जुम्ला विजेता र सुर्खेत उपविजेता भएको छ । एथ्लेटिक्स एक हजार ५०० दौडमा महिलातर्फ जुम्लाका राममाया बुढा प्रथम, सीता न्यौपाने द्वितीय र कालीकोटका ममिता बुढा तृतीय भएको संयोजक शाहीले जनाउनुभयो । त्यस्तै, एथ्लेटिक्स एक हजार ५०० दौडमा पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम, कालीकोटका सन्तोषनाथ योगी द्वितीय र सुर्खेतका सुशील रम्जाली तृतीय भएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार एथ्लेटिक्स १०० मिटर दौडमा महिलातर्फ सु्र्खेतका सेरना सिरपाली प्रथम, कालीकोटका रसुदा शाही द्वितीय र सल्यानका खिमा आचार्य तृतीय भएका छन् । एथ्लेटिक्स एकसय मिटर दौडमा पुरुषतर्फ जाजरकोटका यामसाजन सुनार प्रथम, सल्यानका सुशील केसी द्वितीय र सुर्खेतका पवनकुमार बिसी तृतीय भएका थिए ।

त्यसैगरी, सटफुटमा पुरुषतर्फ सुर्खेतका तिलक विक प्रथम, सुर्खेतकै पदम परियार द्वितीय र रुकुम पश्चिमका हर्क विश्वकर्मा तृतीय भएका छन् भने सटफुट महिलातर्फ कालीकोटका निरुताकुमारी शाही प्रथम, सुर्खेतका प्रतिमा थापा द्वितीय र कालीकोटका रसुदा शाही तृतीय भएका थिए । 

लङजम्प पुरुषतर्फ सल्यानका सुशील केसी प्रथम, जाजरकोटका यामसाजन सुनार द्वितीय र रुकुम पश्चिमका हेमन्त विक तृतीय भएका छन् भने लङजम्प महिलातर्फ सुर्खेतका आशा विक प्रथम, हुम्लाका जयलक्ष्मी हमाल द्वितीय र सल्यानका सुशीला राना तृतीय भएका थिए । 

‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद’ प्रतियोगितामा १० वटा जिल्लाका एक हजार २४१ खेलाडीले २१ खेल तथा २६४ स्वर्ण, २६४ रजत र ४०२ काँस्य पदकमा प्रतिस्पर्धा गर्ने बताइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!