‘सी’ डिभिजन लिग फुटबल आजदेखि

Posted on: 06 Mar, 2019

फागुन २२, काठमाडौँ (रासस) | अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । 

‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा छ र समूह ‘बी’ मा पाँच क्लब छन् । दुवै समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । 

समूह ‘ए’ मा स्वयम्भू क्लब, कशामदेवी प्लानिङ ब्वाइज युनाइटेड, ओएसिस क्लब, मनोहरा एकीकृत युथ क्लब, सानोगौचरण युवा क्लब र सामाजिक युवा क्लब छन् । यस्तै समूह ‘बी’ मा वीरगन्ज युथ एकेडेमी, खालीबारी युवा फुटबल क्लब, महावीर स्टडिज एण्ड एथ्लेटिक्स एशोसिएसन, सानेपा क्लब र समाज कल्यान खेलकूद केन्द्र छन् । 

आज हुने उद्घाटन खेलमा खालीबारी युवा क्लब र समाज कल्याण खेलकूद केन्द्र क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिनुभयो । 

लिगको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख पाउनेछन् । यसैगरी विधागत उत्कृष्टले रु २५ हजार प्राप्त गर्नेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!