अर्जेन्टिनामा विश्वकप फुटसल खेल्न जाने नेपाली टोलीलाई गृहमन्त्रीद्वारा बिदाइ

Posted on: 28 Mar, 2019

चैत १४, काठमाडौँ (रासस) | गृहमन्त्री रामबहादुर थापाले अर्जेन्टिनामा आयोजना हुने विश्वकप फुटसल प्रतियोगिताका लागि जाने नेपाली टोलीलाई आज बिहान बिदाइ गरिएको छ । 

मन्त्री निवास पुल्चोकमा आयोजित एक कार्यक्रममा उहाँले खेलाडी तथा प्रशिक्षकलाई जितको शुभकामना दिदैं बिदाइ गर्नुभएको हो । 

सो अवसरमा मन्त्री थापाले विश्वकपजस्तो ठूलो प्रतियोगितामा सहभागिता जनाउन पाउनु नेपालका लागि खुशीको कुरा भएको बताउँदै नेपालले राम्रो खेल प्रदर्शन गर्नेमा आफू आशावादी रहेको बताउनुभयो । उहाँले खेलाडीको वृत्ति विकास र खेल क्षेत्रको पूर्वाधार निर्माणमा वर्तमान सरकारको ध्यान केन्द्रित रहेको पनि बताउनुभयो । 


बाह्रौँ संस्करणको उक्त प्रतियोगिताका लागि समीर कार्कीको कप्तानीमा बुधबार राष्ट्रिय टोलीको घोषणा गरिएको थियो । नेपाली टोलीका अन्य सदस्यमा दीपेन्द्र रसाइली, वरदान लामा, दिनेश श्रेष्ठ, विशाल थापा, सुजन बलामी, साहिल राना, राजु बुढाथोकी, अनुप राना, गौरव श्रेष्ठ, सञ्जीव तामाङ र ग्रिजेशमान श्रेष्ठ छन् । 

टोली प्रशिक्षकमा कमल विष्ट छन् । विश्वकप खेल्न नेपाली टोली आजै त्यसतर्फ प्रस्थान गर्नेछ । नेपाल समूह ‘डी’ मा छ । सो समूहमा क्यानडा, क्याटलना (स्पेन) र फ्रान्स छ । 

नेपालले पहिलो खेल यही चैत १८ गते क्यानडासँग खेल्नेछ । दोस्रो खेल क्याटलनासँग यही चैत १९ गते तथा समूहको अन्तिम खेल यही चैत २० गते फ्रान्ससँग खेल्नेछ । समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् । विश्वकपमा नेपालले ‘वाइल्ड कार्ड’बाट सहभागिता जनाउन लागेको हो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!