बाक्सिला रनिङ गोल्डकपको खेल तालिका सार्वजनिक तालिका सहित

Posted on: 29 Mar, 2019

चिसाङ शेर्पा | चैत्र १५, खोटाङ | बाक्सिला रनिङ गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रर्वद्धन, स्थानीय खेलाडीहरुलाई प्राथमिकता दिन तथा मोफसलमा फुटबल खेलको बृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । 

खोटाङ फुटबल एकेडेमीको कार्यालय माटिकोरेमा शुक्रबार पत्रकार सम्मेलनगरी सार्वजनिक गरिएको खेल तालिका अनुसार बुईपा एलाभेन स्पोर्टस क्लब र सोल्मा स्पोर्टस क्लबविच पहिलो खेल हुनेछ । पृथ्वी उच्च मावि बाक्सिलामा आगामी चैत्र २३ गतेबाट एलाभेन साइजमा ९० मिनेट अवधिमा हुने दशौं संस्करणको प्रतियोगितामा टेम्मा स्पोर्टस क्लब टेम्मा र बाम्राङ युवा स्पोर्टस क्लब बाम्राङ तथा हलेसी तुवाचुङ फुटबल क्लब र खोटाङ भगवती स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका निम्ति ११ टिमले टिम दर्ता गराएका छन् ।

खाराम्बु स्पोर्टस क्लब खार्मी, बाक्सिला फुटबल क्लब बाक्सिला, खोटाङ फुटबल एकेडेमी दिक्तेल, जन्तेढुंगा गाउँपालिका र केपिलासगढी गाउँपालिकालाई बाई परेको छ । उनीहरु स्वतः प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको बाक्सिला फुटबल क्लवका सचिव पवन श्रेष्ठले बताए । प्रतियोगिता अवधिभर खोटाङ फुटबल संघका अध्यक्ष धु्रवविक्रम राई, किक थाइ वक्सिङ खेलाडी बरुण घले, एथलेटिक्स खेलाडी दिर्पा वस्नेतलाई सम्मान तथा खेलक्षेत्रमा कलम चलाउने जिल्लाका एकजना पत्रकारलाई ५ हजार ५१० रुपैयाँ बराबरको खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिने क्लवका अध्यक्ष शिवकुमार राईले बताए । 

प्रतियोगितामा समुह विजेताले १ लाख ५५ हजार ५ सय १० रुपैयाँ नगदका साथमा गोल्डकप, उपविजेताले ७५ हजार १० र सान्त्वना दुइ टिमले जनही १५/१५ हजार नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै, उत्कृष्ट स्ट्राईकर, मिड फिल्डर, डिफेण्डर, गोल रक्षक, हाइ स्कोरर र अनुशासित टिमलाई जनही ५/५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । 



माथिको तश्वीरमा: खेल तालिका सार्वजनिक गर्दै आयोजक टोली । तस्विर: चिसाङ शेर्पा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!