कर्णाली प्रिमियर लिग: घरेलु टोलीको विजयी सुरुवात

Posted on: 25 Apr, 2019

बैशाख १२, सुर्खेत । कर्णाली प्रिमियर लिंग दोस्रो सिजनको उद्घाटन खेलमा घरेलु टोली कर्णाली– ११ ले विजयी सुरुवात गरेको छ । सुर्खेतको वीरेन्द्रनगर कालिन्चोक क्रिकेट मैदानमा विहीबारको उद्घाटन खेलमा कर्णालीले झापाको लालीगुराँस क्रिकेटलाई एकेडमीलाई ८ विकेटले हराउँदै शानदार सुरुवात गरेको हो ।


१०२ रनको लक्ष्य कर्णालीले कप्तान रविन्द्र जंगशाहीको अविजित ४५ रनको पारीसंगै १४ दशमलव दुई ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो । टस जितेर ब्याटिङ गरेको लालिगुराँसले निर्धारित २० ‌ओभर खेल्दै सबै विकेट गुमाएर १०१ रन बनाएको हो । लालिगुँरासका लागि रोनक दाक्षिनीले २१ र अजय यादवले २० रन बनाए ।

पाहुना टोलीलाई सस्तैमा समेट्ने क्रममा कर्णालीका किशोर महतोले ४ ओभरमा १४ रन मात्र दिएर तीन विकेट लिए । यस्तै दिवान पुनले पनि तीन तथा जितेन्द्र सिंह ठकुरीले दुई विकेट हात पारे । शुक्रबार बिहान ८ बजे न्यु होराईजन बुटवल र महेन्द्रनगर किक्रेट एकेडेमी तथा दिउँसो विभागिय टोली आर्मी र लालिगुराँस क्रिकेट एकेडमी भिड्ने छन् ।

२१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागसहित ८ टोलीले सहभागिता जनाएको कर्णाली किक्रेट एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए । लिग–कम नक–आउट फर्म्याटमा हुने प्रतियोगितमा २ समुहबाट उत्कृष्ट २ टिम सेमिफाइनल पुग्ने छन्  । लिगको विजेताले पाँच लाख रुपैयाँ पाउने छ भने उपविजेताले दुई लाख हात पार्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले ५० हजार हात पार्नेछन भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २०÷२० हजार पाउने छन् । यस्तै फाइनल खेलमा एकजना दर्शकलाई गोला प्रथाबाट रनर कम्पनीको एउटा मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा छक्का समात्ने दर्शकलाई एक हजारको पुरुस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!