भारतको अपराजित यात्रा कायमै: वेस्टइन्डिज १२५ रनले पराजित, कोहलीको नयाँ रेकर्ड

Posted on: 27 Jun, 2019

असार १२, काठमाडौँ | वर्ल्डकपको ३४ औं खेल म्यानचेस्टरमा भारतले वेस्टइन्डीजलाई १२५ रनको फराकिलो स्कोरले पराजित गरेको छ । भारतले दिएको २६९ रनको लक्ष्य पछ्याएको वेस्टइन्डीज ४.२ ओभरमै अलआउट हुन पुगेको हो । आजको खेलमा कोहलीले म्यान अफ द म्याच अवार्ड पाए ।

पछिल्लो पटक भारतले २०११ मा वेस्टइन्डीजलाई ८० रनले पराजित गरेको थियो । यो जीतसँगै टीम इन्डियाले ६ खेलमा ११ अंक प्राप्त गरेको छ । अंक तालिकामा भारत तेस्रो स्थानमा छ । भारतको अर्को खेल अब बलियो टिम इंग्ल्याण्ड बिरुद्ध ३० जूनमा बर्मिंघममा हुनेछ ।


आजको खेलमा पहिले ब्याटिङ गर्दै भारतले ५० ओभरमा ७ विकेटमा २६८ रन बनाएको थियो । खेलमा विराट कोहलीले सर्वाधिक ७२ रनको पारी खेले । त्यस्तै महेन्द्र सिंह धोनीले ५६ रन बनाएर नटआउट रहे । त्यस्तै लोकेश राहुलले ४८ र हार्दिक पाण्डेले ४६ रन बनाए । खेलमा वेस्टइन्डीजको लागि केमार रोचले ३ विकेट लिए । भारतले ५० ओभरमा २६८ रन जोडेर दिएको २६९ रनको लक्ष्य पछ्याएको वेस्टइन्डीजको टीम ३४.२ ओभरमा जम्मा १४३ रन मात्र बनाएर अलआउट हुन पुग्यो । उसको लागि सुनील अम्बरिसले सबैभन्दा बढी ३१ रन बनाउन सके ।

गेल, हेटमायर र होल्डर बल्लेबाजीमा चल्न सकेनन्

वेस्टइन्डीजका ओपनर क्रिस गेलले आजको खेलमा राम्रो पर्दर्शन गर्न सकेनन् । उनले जम्मा ६ रन मात्र बनाउन सके । भारतीय बलर शमीको बलमा केदार जाधवले क्रिस गेलले प्रहार गरेको बललाई क्याच गरे । गेलले आफ्नो पारीमा मात्र एक चौका लगाए । शमीले त्यसपछी शाई होपलाई ५ रनको स्कोरमै पवेलियन पठाए । सुनील अम्बरिसले सर्वाधिक ३१ रन बनाउदा हार्दिकले आउट गरिदिए । त्यस्तै कुलदीपले निकोलस पूरनलाई पवेलियन पठाए । पूरनले २८ रनको पारी खेल्न सके । उनले तेश्रो विकेटको लागि सुनील अम्बरिससँग ५५ रनको साझेदारी गरे । चहलले वेस्टइन्डीजका कप्तान जेसन होल्डरलाई ६ रन मात्र बनाउन दिएर पवेलियन पठाए । यसरी भारतले वेस्टइन्डीजलाई क्रमश खेलमा कमजोर बनाउन सक्यो ।

आजको फराकिलो हारसँगै वेस्टइन्डीजको लागि यो तेस्रो सबैभन्दा फराकिलो हार हो । यसअघि २०१५ मा उसलाई दक्षिण अफ्रिकाले सिड्नीमा खेलिएको खेलमा २५७ रनको अन्तरले पराजित गरेको थियो । त्यस्तै २०१५ मै उसलाई न्युजील्याण्डले १४३ रनले पराजित गरेको थियो । 


कोहलीको २० हजार रन पुरा 

वर्ल्डकप-२०१९ को क्रममा वेस्टइन्डीज बिरुद्ध ३७ रन बनाएलगत्तै भारतीय क्याप्टेन कोहलीले एकसाथ दुई क्रिकेट स्कोररलाई पछाडी पार्दै नयाँ रेकर्ड राखेका छन् । आजको खेलसँगै उनले सबैभन्दा तीब्र २०, हजार अन्तराष्ट्रिय रन (टेस्ट+वानडे +टी-20 इन्टरनेशनल) पुरा गर्नेमा वर्ल्डरेकर्ड बनाएका छन् । विराटले यो रेकर्ड ४१७ पारिमा गर्न सफल भएका हुन् । यस अघि सबैभन्दा कम खेलमा २० हजार अन्तराष्ट्रिय रन पुरा गर्ने रेकर्डमा नाम मास्टर ब्लास्टर सचिन तेन्दुलकर र वेस्टइन्डीजका खेलाडी ब्रायन लाराको नाम थियो, दुवै जनाले संयुक्त रूपमा ४५३ पारिमा यो उपलब्धि हासिल गरेका थिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!