एसिसी पूर्वी क्षेत्रीय क्रिकेटमा सिङ्गापुर विजयी

Posted on: 02 Jul, 2019

असार १७, काठमाडौँ | मलेसियामा आजदेखि शुरु भएको एसिसी यू–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा सिङ्गापुर विजयी भएको छ । सिङ्गापुरले चीनलाई आठ विकेटले पराजित गरेको हो । उद्घाटन खेलमा टस हारेर ब्याटिङ गरेको चीनले २३ ओभरमा सबै विकेट गुमाउँदै २८ रन मात्र बनायो । 

सिङ्गापुरले २९ रनको विजयी लक्ष्य ६ दशमलव ५ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । सिङ्गापुरका लागि साई हर्ष बेनुगोपालले अविजित १५ रन र विनित चेतेस मेहताले ११ रन बनाए । बलिङतर्फ चीनका टियान सेन कुनले दुई विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा चीनका सात ब्याट्सम्यान शून्य रनमा आउट भए । वेई गुइलीले सर्वाधिक ७ रन बनाए । चीनलाई न्यून स्कोरमा समेट्ने क्रममा सिङ्गापुरका विनित चितेस मेहताले सात विकेट लिए ।

 सात राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित चीन र सिङ्गापुर छन् भने समूह ‘बी’मा आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन् । प्रतियोगिताको विजेताले श्रीलङ्कामा आयोजना हुने यू–१९ एशिया कप खेल्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!