अब नेपालको विश्व छनोट यात्रा आफ्नै हातमा, भोली कुवेतसंग भिड्दै

Posted on: 26 Jul, 2019

साउन १०, काठमाडौँ | टी-२० विश्वकप छनोट खेलमा नेपाललाई अब सहज भएको छ । आइसिसी टी-२० विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगिताको पहिलो खेलमा अप्रत्यासित हार बेहोरेको नेपालले छनोट यात्रामा आफूलाई तेश्रो स्थानमा उभ्याउन सफल भएको हो । 

खराब ब्याटिङका कारण कतारसँग ४ विकेटले पराजित भएको नेपालको विश्वकप छनोट यात्रा अन्य टिमको हातमा पुगेको थियो । आज भएको खेलमा सिंगापुरले जितेसंगै ५ अंक बनाई शिर्ष स्थानमा उक्लिएको छ भने कुवेत दोश्रो स्थानमा छ ।  सिंगापुरकै जितका कारण प्रतियोगिताअन्तर्गत नेपाल विश्व छनोट यात्रामा आफ्नै हातमा फर्किएको छ । 

आजको खेलमा मलेसियालाई सिंगापुरले तथा कुवेतले कतारलाई पराजित गरेको थियो । जससँगै सिंगापुर ५ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । ३ अंक जोडेको कुवेत दोस्रो स्थानमा छ । यी दुवै टिमसँग नेपालले खेल्न बाँकीनै छ । दुवै टिमलाई पराजित गरेमा नेपाल च्याम्पियन बनेर विश्व छनोटमा पुग्नेछ । 

हिजोसम्म नेपाललाई पछि पार्ने सम्भावना भएका कतार र मलेसिया दुवै टिम शुक्रबार पराजय भोगेसँगै बाहिरिएका छन् ।

नेपालका लागि भोली कुवेतविरुद्धको खेल निकै महत्वपूर्ण छ । नेपालले भोलीको खेलमा पराजय भोगेमा विश्वकप छनोटमा पुग्ने छैन । त्यसो त कुवेत कमजोर टिम होइन । उसले आजको खेलमा कतारमाथि बिस्फोटक ब्याटिङ गरेको थियो । उसले एकै इनिङमा प्रतियोगिताकै सर्वाधिक स्कोर १९७ रन जोडेर आफ्नो शक्ति देखाईसकेको छ । 

कुवेतविरुद्धको खेलमा नेपालको लागि कप्तान पारस खड्काप्रति ठूलो योगदानको आशा गरिएको छ । पारसले कतारविरुद्धको पहिलो खेलमा शारीरिक समस्याका कारण दोस्रो इनिङ खेल्न सकेका थिएनन् भने मलेसियाविरुद्धको खेल गुमाएका थिए । तीन दिन आराम गरेपछि पारस भोलीको लागि फिट भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!