दिक्तेलमा नगरपालिका स्तरिय मेयरकप व्याडमिण्टन प्रतियोगिता हुने

Posted on: 24 Nov, 2019

मंसिर ८,खोटाङ | खोटाङको दिक्तेलमा ‘प्रथम प्रदेश नम्बर १ नगरपालिका स्तरिय मेयरकप व्याडमिण्टन’ प्रतियोगिता हुने भएको छ । दिक्तेलस्थित माटिकोरेमा निर्माण भएको कभर्डहल उद्घाटनको अवसर पारेर खुल्ला डवल व्याडमिण्टन प्रतियोगिता हुन लागेको हो ।

आईतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै आगामी पुस १ गतेदेखी ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजना तथा जिल्ला व्याडमिण्टन संघको सहयोगमा हुने प्रतियोगितामा एक नगरपालिकाबाट बढीमा दुई टिमलाई सहभागि गराईने छ । एक हजार पाँच सय रुपैयाँ सहभागि शुल्क लाग्नेछ ।


प्रदेश नम्बर १ का ४९ वटा नगरपालिकाका खेलाडीलाई सहभागि गराएर हुने प्रतियोगिता नकआउटको आधारमा अन्तर्राष्ट्रिय नियम अनुसार खेलाईने जनाइएको छ । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५० हजार, दोश्रो पुरस्कार ८१ हजार र तेश्रो पुुरस्कार दुई टिमलाई ४१-४१ हजार नगदका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा टिम दर्ता गराउनका लागि सम्बन्धित नगरपालिकाको सिफारिस पत्र अनिवार्य गरिएको छ । २८ मंसिरभित्र टिम दर्ता गरिसक्नुपर्ने पत्रकार सम्मेलनमा जनाइएको छ ।



नगरपालिकाको १ करोड ८ लाखमा निर्माण भएको कर्भडहल उद्घाटनसँगै व्याडमिण्टन प्रतियोगिता गराउन लागिएको नगरप्रमुख दिपनारायण रिजालले बताए । नगरपालिकाको  दुई आर्थिक वर्षको बजेटबाट निर्माण भएको कर्भडहल बनेपछि अब भने, स्थानीय, प्रदेश स्तरिय तथा राष्ट्रिय स्तरका इन्डोर गेम गराउन सकिने नगरप्रमुख रिजालले बताए । कभर्डहलको केही फिनिसिङको काम भईरहेको निर्माण उपभोक्ता समितिले जनाएको छ । प्रतियोगिताका कारण नगरको विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार तथा व्यापार व्यावसायमा टेवा पुग्ने भएकाले निक्कै महत्वका साथमा हेरिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!