१३औँ सागः खड्का र थापाबाट शपथ

Posted on: 01 Dec, 2019

मङ्सिर काठमाडौँ | पोखरा र जनकपुरमा आजदेखि शुरु भएको १३ औँ सागमा सम्पूर्ण खेलाडीका तर्फबाट नेपालका क्रिकेट खेलाडी पारस खड्का र रेफ्री तथा अफिसियलका तर्फबाट ब्याडमिण्टनका अन्तरराष्ट्रिय रेफ्री दीपक थापाले शपथ लिनुभएको छ । 

खेल उद्घाटन समारोहमा मार्चपासमा नेपालको झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्नुभएको थियो । समारोहमा नेपालका प्रथम ओलम्पियन जीतबहादुर केसीको नेतृत्वमा सातै प्रदेशमा साग ज्योति लगी आज दशरथ रङ्गशालामा ल्याइएको थियो । कार्यक्रममा मुकुन्दराज शर्माको शब्दमा रहेको साग गीत इन्दिरा जोशी र साथीहरुले गाउनुभएको थियो । 

त्यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट नृत्य, नेपालका सातै प्रदेशका गीतनृत्य तथा सार्क मुलुकका छुटछुट्टै गीत ती मुलुककै भाषामा प्रस्तुत गरिएको थियो । 


त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चित्र, सात मुलुकका झण्डा तथा प्रतियोगितामा समाविष्ट २६ खेलको विद्युतीय प्रदर्शनी गरिएको थियो । लाखे र सागको मस्कट कृष्णसारको नृत्य तथा मयूर र याक नृत्यका साथै देवीदेवताका प्रतीक पनि  प्रस्तुत गरिएको थियो । समारोहमा बौद्ध भिक्षुहरुको सहभागिता गराई शान्तिको सन्देश पनि दिइएको थियो ।

माथिको तश्वीरमा: काठमाडौँको दशरथ रङ्गशालामा आइतबार आयोजित १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत सहभागी । तस्वीरः प्रदीपराज वन्त/रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!