टि-२० क्रिकेटमा पहिलोपटक नेपालको सर्वाधिक स्कोर, ज्ञानेन्द्रद्वारा सतक प्रहार

Posted on: 05 Dec, 2019

मंसिर १९, काठमाडौँ | नेपालमा जारी १३ औं साग अन्तरगत नेपाल र भुटानबीच भईरहेको क्रिकेट खेलमा नेपालले पहिलो इनिङमा २३६ रनको विशाल स्कोर खडा गरेको छ । यो टि–२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ठूलो स्कोर हो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक सतक प्रहार गरेका छन् । ज्ञानेन्द्रले कमजोर भुटानमाथि हावी हुँदै अन्तर्राष्ट्रिय टि–२० मा पहिलो शतक प्रहार गरेका छन् । पहिलो अन्तराष्ट्रिय सतक बनाउने क्रममा उनले ९ छक्का र ५चौका प्रहार गरे । यसअघि नेपालका लागि एक मात्र टि–२० सतक पूर्व कप्तान पारसको नाममा छ । 


पहिले टस जितेर नेपाललाई भुटानले ब्याटिङको निम्तो दिएको थियो । नेपालको इनिङ सुरुवात गरेका पूर्व कप्तान पारस खड्काले २८ बलमा ५७ रन बनाएर आउट भए भने तेस्रो नम्बरमा पठाइएका युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ६ रन मात्रै बनाए । त्यसपछि दिपेन्द्र सिङ ऐरीले ओपनर ज्ञानेन्द्रसँग मिलेर फराकिलो साझेदारी गरे । ज्ञानेन्द्र मल्ल ५५ बलमा १ सय ७ रन बनाएर आउट भएका थिए । ऐरी भने २७ बलमा २ छक्का र ४ चौकासहित ४५ रनमा अविजित रहे ।

ज्ञानेन्द्रको शतकीय इनिङको मद्दतमा नेपालले पहिलो पटक टि–२० मा २ सयभन्दा माथिको स्कोर खडा गर्न सफल भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!