पाथीभरा गोल्डकपको सेमिफाइनल आजदेखि

Posted on: 16 Aug, 2016

साउन ३२, ताप्लेजुङ । ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सेमिफाइनल चरणको खेल सुरु हुँदैछ । 

पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा आज घरेलु टोली सङ्घर्र्ष स्पोर्टिङ क्लब उकालीपानी, ताप्लेजुङ र इलाम–११ भिड्ने भएका छन् । खेल सदरमुकामस्थित भानुजन उच्च माविको खेल मैदानमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । 

यस्तै, महिलातर्फ सोमबारको विजेता सूर्योदय युथ क्लब जाँते मोरङ र लेकसाइड स्पोर्टिङ क्लब ताप्लेजुङ नगरपालिका–६ बीच खेल हुने आयोजकले जनाएको छ । सो खेल अहिले बिहान ११ बजे सुरु हुनेछ । पुरुषतर्फको सोमबार भएको खेलमा गोर्खा स्पोर्टिङ क्लब दमक झापाद्वारा सिलगुढी भारत १–० गोल अन्तरले पराजित भएको छ । 

खेलको पहिलो हाफको १७औँ मिनेटमा झापाका जर्सी नम्बर ११ का सुजल श्रेष्ठले गरेको गोल नै गोर्खा स्पोर्टिङ क्लबको जितका लागि निर्णायक बन्यो । सो खेलको ‘म्यान अफ दी म्याच’ सिलगुढी भारतका उत्तम गुरुङ घोषित भएका छन् । 

यस्तै, सोमबारदेखि सुरु भएको महिलातर्फको खेलमा मानाभरा युवा क्लब खेजेनिम ताप्लेजुङलाई ३–० गोल अन्तरले पराजित गर्दै सूर्योदय युथ क्लब जाँते मोरङले आफ्नो विजयी यात्रा सुरुवात गरेको छ । 

खेलको पहिलो हाफको १२आँै र १५औँ मिनेटमा मोरङकी संरचना प्रधान र कोपिला खनालले क्रमशः एक÷एक गोल गरेका थिए भने दोस्रो हाफमा मोरङकै दीपा न्यौपानेले थप एक गोल गरेकी थिइन् । यस खेलमा भने संरचना प्रधान म्यान अफ दी म्याच घोसित भएकी छिन् । 

शुक्रबारदेखि जारी रहेको खेल भदौ २ गते सम्पन्न हुनेछ । २०२९ सालदेखि हरेक वर्ष लाखेजात्राका अवसरमा सञ्चालन हुँदै आएको प्रतियोगितामा पछिल्ला वर्षमा विदेशी टोलीको समेत सहभागिता हुन थालेपछि छिमेकी भारतदेखि स्वदेशका विभिन्न जिल्लाबाट समेत दर्शकको ठूलो उपस्थिति हुने गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!