डेटिङका लागि उमेर घटाइ पाऊँ भनि अदालतमा यस्तो निवेदन !

Posted on: 13 Nov, 2018

अरुलाई आकर्षित गर्न लुक्स बदल्ने गरिएका घटना त देखे सुनेकै हो । तर नेदरल्याण्डमा निकै अनौठो घटना भएको छ ।

बढीभन्दा बढी महिलाहरुसँग डेटिङ गर्नका लागि एकजना मानिस आफ्नो उमेर परिवर्तन गर्न चाहन्छन् । ६९ वर्षका ती वृद्धले आफ्नो उमेर घटाएर ४९ वर्ष बनाउन चाहन्छन् ता कि उनलाई डेटिङका मौका पर्याप्त मिलुन् ।

कानूनी रुपमा उमेर घटाउने प्रयोजनका लागि उनी एम्सटर्डमस्थित स्थानीय अदालतमा पुगे । डेटिङको दुनियामा बढीभन्दा बढी मौका प्राप्त गर्नका लागि आफ्नो उमेर वास्तविक भन्दा २० वर्ष घटाउने उनको इच्छा छ ।

पत्रकार तथा प्रवचकसमेत रहेका एमिल रेटलब्याण्डको वास्तविक जन्ममिति सन् १९४९ मार्च ११ हो । तर, उनी त्यसलाई बदलेर सन् १९६९ को मार्च ११ बनाउन चाहन्छन् ।

मान्छेले आफ्नो नाम तथा लिंग बदल्न पाउँछन् भने उमेर पनि बदल्न पाउनु पर्छ भन्ने उनको तर्क छ ।

डेटिङ साइट टिन्डरमा आफ्नो उमेर ६९ वर्ष रहेको हुँदा आफूलाई डेटिङमा कसैले पनि प्रस्ताव नगर्ने र आफ्नो प्रस्तावको जवाफ पनि कसैले नफर्काउने गरेको उनको गुनासो छ । ४९ वर्ष उमेर भएमा स्थिति निकै राम्रो हुने उनको विश्वास छ ।

अदालतमा उनले दायर गरेको यो अनौठो मुद्दाको सुनुवाई ४ हप्ताभित्रमा पूरा हुनेछ ।

आफुलाई युवा भगवानको नामले पनि चिनाउने एमिल अहिले पेन्सन पाउँछन् । यदि आफ्नो उमेर घटेमा आफु पेन्सन सुविधा त्याग्न पनि तयार रहेको उनी बताउँछन् ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!