जब २५ वर्षीय महिलाले एकैपटक ७ वटा बच्चा जन्माइन् !

Posted on: 18 Feb, 2019

काठमाडौं | पूर्वीइराकको दियालीमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँकी एक २५ वर्षीय महिलाले एकैपटक ७ वटा बच्चा जन्माएकी छन् ।

ती महिलाको नाम भने खुलाइएको छैन । यद्यपि, उनले अस्पतालमा प्राकृतिक प्रसूतिबाटै बच्चा जन्माएको र आमा तथा बच्चा सबैको स्वास्थ्य राम्रो रहेको डेलीमेलले जनाएको छ ।

सरकारी अधिकारीका अनुसार कुनै पनि महिलाले एकै बेतमा ७ बच्चा जन्माएको इराकमा यो पहिलो घटना हो ।

ती महिलाले नर्मल डेलिभरीबाट जन्माएका ७ बच्चामध्ये ६ जना छोरी र १ जना छोरा छन् ।

यसअघि सन् १९९७ मा अमेरिकामा एकजना महिलाले ७ जना बच्चा जन्माएकी थिइन् । तर उनले बच्चा जन्माउँदा शल्यक्रिया गर्नुपरेको थियो । त्यो घटनापछि तत्कालीन अमेरिकी राष्ट्रपति विल क्लिन्टनले उक्त दम्पत्तिलाई भेट गरी बधाइ दिएका थिए । साथै उक्त दम्पत्तिलाई घर तथा अन्य आर्थिक सहयोग गर्नुका साथै सबै बच्चालाई पढ्नका लागि छात्रवृत्तिसमेत प्रदान गरेका थिए ।

त्यस्तै सन् २०१३ मा लेबनानमा एकजना महिलाले ६ जना बच्चा जन्माएकी थिइन् । जसमा ३ छोरा र ३ छोरी थिए ।

अहिले ७ जना बच्चा जन्माउने इराकी महिलाको नाम तथा पहिचान नखुलाइएको भए पनि उनका पतिको नाम भने युसुफ फदल रहेको बुझिएको छ । अब आफूमाथि कूल १० जनाको जिम्मेवारी आएको उनले बताएका छन् । बच्चाको हेरचाहका लागि उनको घरमा अरु १० जना सदस्य छन् । आफूहरुलाई अब बच्चाको रहर पुगेको पनि उनले बताएका छन् ।

एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!