लेक लागेर युवकको मृत्यु

Posted on: 08 Jun, 2019


जेठ २५ ,जुम्ला |यार्सा सङ्कलनका लागि गएका जुम्ला जिल्ला पातारासी गाउँपालिका–५ का एक युवकको लेक लागेर मृत्यु भएको छ । लेक लागेर बिरामी भएपछि उपचारका लागि लेकबाट ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो । मुगुम कार्मारोङ गाउँपालिका–२ मुगुगाउँको रिमार भन्ने पाटन क्षेत्रमा यार्सा सङ्कलनमा गएका जुम्ला जिल्ला पातारासी गाउँपालिका–५ का ३२ वर्षीय नन्दबहादुर बुढाको मृत्यु भएको हो ।

 बिहान लेक लागेपछि उनीसँगै गएका उनका साथीले उपचारका लागि सदरमुकाम गमगढी ल्याउँदै गर्दा मुगुम कार्मारोङ गाउँपालिका–२ मुगुगाउँ र शिरानीचौरको बीचमा पर्ने जङ्गलमा बिहान ११ बजे मृत्यु भएको नेपाल सशस्त्र प्रहरी गुल्म ४५ का प्रहरी नायब उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिनुभयो । मुगुम कार्मारोङ गाउँपालिका–२ मुगुगाउँका आधा दर्जनभन्दा बढी पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलनका लागि उक्त गाउँपालिकाले जेठ १८ गतेदेखि ४० दिनका लागि सर्वसाधारणलाई खुला गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!