हावाहुरीले कञ्चनपुरका ८७० घरमा क्षति

Posted on: 10 Jun, 2019


२७ जेठभीमदत्तनगर,  (रासस) : तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ ।

रेडक्रसका अनुसार कञ्चनपुरमा ३७ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । “जिल्लाभर रहेका १५ उपशाखाबाट गरिएको क्षति विवरण सङ्कलनको प्रारम्भिक रेकर्ड हो ।” जिल्ला रेडक्रस सोसाइटीको कार्यालयका कार्यालय प्रमुख मनोज उप्रेतीले भन्नुभयो, “वास्तविक रेकर्ड आउन एक-दुई दिन लाग्छ ।” 

उहाँले वास्तविक रेकर्ड सङ्कलनका लागि रेडक्रस, स्थानीय तह, स्थानीय प्रशासनका साथै सुरक्षा निकाय संयुक्तरुपमा खटिएको समेत जानकारी दिनुभयो । “स्थलगत अनुगमनका क्रममा पूर्णरुपमा क्षति भएको देखिएको परिवारलाई रेडक्रसले राहत प्याकेज पनि उपलब्ध गराउँदै हिँडेको छ ।” 

त्यस्तै हावाहुरीका कारण कञ्चनपुरका ५२५ बिजुलीका पोल भाँचिएका छन् । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले विद्युत्तर्फ पोल भाँचिनुका साथै धेरै ठाउँमा तारमा समेत क्षति पुगेको बताउनुभयो । उहाँले विद्युत्मा यहाँ रु डेढ करोड बराबरको क्षति भएको बताउनुभयो । उहाँले जिल्लाको अधिकांश ठाउँमा विद्युत् सञ्चालन भइसकेको बताउनुभयो । “कृष्णपुरको रैकवारबिचुवामा विद्युत् सञ्चालन हुन अझै दुई÷तीन दिन लाग्न सक्छ”, उहाँले भन्नुभयो, “नयाँ पोल ल्याएर तार तान्ने काम हँुदैछ ।”

क्षति विवरण सङ्कलनसँगै विद्युत् सञ्चालन गर्न रातदिन टोली जिल्लाभर परिचालन भएको उहाँले जानकारी दिनुभयो । “कञ्चनपुरमा कृष्णपुर नगरपालिकामा सबैभन्दा बढी क्षति भएको छ”, उहाँले भन्नुभयो, “क्षतिको यकिन विवरण आएपछि केन्द्रमा बजेट माग्ने योजनामा छौँ ।”

त्यसैगरी यहाँका स्थानीय तहहरु पनि पीडितको राहत र क्षतिको विवरण सङ्कलनमा सक्रिय देखिएका छन् । स्थानीयतह आपत्कालीन राहतकोष घोषणा गर्नेदेखि घाइतेको उपचार खर्चमा समेत गम्भीररुपमा लागिपरेका छन् । जिल्ला सुरक्षा समिति पनि हावाहुरीबाट पूर्णरुपमा क्षति व्यहोरोका स्थानीयवासीको भत्केका घर पुनःनिर्माण गर्ने र त्रिपाललगायतका राहत सामग्री वितरण गर्न छलफलमा जुटेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!