चितुवा आक्रमणमा परेकी बालिकाको परिवारलाई राहत

Posted on: 10 Jun, 2019


, २७ जेठ ,दमौली (रासस) : चितुवाको आक्रमणमा परी ज्यान गुमाएकी तनहुँको भानु नगरपालिका–२ भकुण्डथोक निवासी नौ वर्षीया पुष्पा अधिकारीको परिवारलाई राहत प्रदान गरिएको छ । डिभिजन वन कार्यालय तनहुँले तत्कालका लागि रु ५० हजार राहत प्रदान गरेको हो ।

उक्त रकम मृतककी आमा दुर्गा अधिकारीलाई प्रदान गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । बरालका अनुसार थप राहतका लागि प्रक्रियाअनुसार जाँदा केही समय लाग्नेछ ।

बरालले चितुवाको आक्रमणबाट मृत्यु भएकी बालिकाको परिवारलाई रु १० लाख क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिकाबमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा रु ५० हजारसम्म, गम्भीर घाइते भएमा रु एक लाखसम्म र मृत्यु भएमा निजका परिवारलाई अधिकतम रु १० लाखसम्म उपलब्ध गराउने व्यवस्था रहेको छ । 

आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालिकाको शुक्रबार राति मृत्यु भएको थियो । बालिकालाई आक्रमण गर्ने चितुवा नियन्त्रणमा लिन सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकसहितको ३० जनाको टोली खटिएको छ । बरालले भन्नुभयो, “उक्त टोलीले बेलुकाको समयमा चितुवाको खोजीकार्यलाई तीव्रता दिएको छ । चितुवा नियन्त्रणमा लिन सक्दो प्रयास गर्नेछौँ ।”चितुवाको आक्रमणबाट यसअघि भानु नगरपालिकामा दुई बालक र एक बालिकाको मृत्यु भइसकेको छ । विसं २०७४ फागुन १ गते नगरपालिका–३ दोरदोरका छ वर्षीयविशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते नगरपालिका–४ जोखानेका चार वर्षीया रन्जिता लम्साल र मङ्सिर १५ गते नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

समवेदना व्यक्त

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई समवेदना प्रकट गर्नुभएको छ । आइतबार मृतकको घरमा पुगी वरिष्ठ नेता पौडेलले मृत बालिकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दैै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो । सो अवसरमा पौडेलले बालिकालाई आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि सम्बन्धित निकायलाई सचेत गराइसकेको बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!