आँधीपीडितको खुला आकाशमुनि बास

Posted on: 14 Jun, 2019

जेठ ३१, धनगढी | धनगढी उपमहानगरपालिका–२ का सरिता रानाथारु साँझको समयमा घरमा खाना पकाइरहनु भएको थियो । जेठ २३ गते साँझ अन्दाजी ७ः३० बजे पश्चिमतर्फबाट एक्कासी आएको आँधीबेहरीले इँटाले बनेको घर भत्किँदा छोरी आस्था राना घाइते भइन् ।  

आँधी नरोकिएपछि घाइते छोरीसहित उहाँले टेबुलमुनि ओत लागेर ज्यान जोगाउनुभयो । घर भत्किएपछि चार वर्षीया छोरी आस्थाको टाउको र खुट्टामा चोट लागेको छ । घरको दिवाल र छाना उडाएर क्षति पुगेपछि उहाँको परिवारलाई यतिबेला बास र खानाको समस्या छ । तर समस्याको सुनुवाइ गरिदिने कोही छैन । 

“समस्या सुनिदिने कोही छैन”,सरिताले भन्नुभयो, “घरभित्रको सबै चामल पिठो भिजेर नष्ट भएपछि के खाने भन्ने समस्या भएको छ ।”आफ्नो उमेरमा यति ठूलो हावाहुरी आएर क्षति पुगेको अनुभव यसअघि कहिल्यै नभएको धनगढीकै अर्का आँधिबेहरी पीडित ६५ वर्षीय दुखीराम चौधरीले बताउनुभयो । 

 “आँधीले घरको छाना उडाउँदा धन्न बचियो”,उहाँले भन्नुभयो, “छाना उडिरहँदा आफ्नो र परिवारका सदस्यको ज्यान बचाउनेतिर लागियो, घरभित्र रहेको डेहरी (खाद्याह्न राख्ने माटोको भकारी)मा राखिएको धान गहुँ भिजाएर क्षति पुगेको छ ।”आँधिबेहरी गएको एक हप्ता बित्न लाग्दा पनि बसोबास र खानाको व्यवस्थापनमा ढिलाइ हुँदा पीडितको बिचल्ली भएको छ ।

 स्थानीय कृष्णा चौधरीले विपद्ले सिर्जना गरेको समस्या एकातिर रहेकामा विद्युत् आपूर्ति पनि सञ्चालन नहँुदा बढेको चर्को गर्मीले झन सास्ती भएको दुखेसो सुनाउनुभयो । उहाँले भन्नुभयो, “बिग्रेको विद्युत्को लाइन जोड्न आउनेले पैसा पाएमा तत्कालै लाइन जोडी दिन्छन््, पैसा नपाउँदा नजोडीकन फर्किन्छन् ।”विपद्का कारण छानाविनाको घरमा रात काटिरहेको, छाना छाउनका लागि आवश्यक व्यवस्था मिलाउने र खानाको व्यवस्था गर्ने काममा कसैले चासो नदिएको पीडितहरुले बताएका छन् । 

यद्यपि विपद् व्यवस्थापन समिति कैलाली, धनगढी उपमहानगरपालिका, नेपाल रेडक्रस सोसाइटीको पहलमा केही पीडित परिवारलाई त्रिपाल वितरण गरिएको छ । आँधिबेहरीमा परेर कैलालीमा दुई जनाको मृत्यु भएको थियो भने कैलाली र कञ्चनपुरमा गरी ९९ जना घाइते भएका थिए । गम्भीर घाइतेको उपचार भइरहेको छ ।  

 आँधीबेहरीका कारण कैलाली कञ्चनपुरमा दुई हजारभन्दा बढी सङ्ख्यामा बिजुलीका खम्बा भाँचिएको र ठाउँठाउँका विद्युत् प्रशारण लाइनको तार चुडालिँदा ठूलो क्षति पुगेको छ । जसका कारण अधिकांश क्षेत्रमा अझैसम्म विद्युत् नियमित हुन सकेको छैन ।

  विद्युत् लाइन जोड्न विद्युत् कार्यालय पुग्ने गरेका सर्वसाधारण समस्याको सुनुवाइ गरिदिने कोही नभएको भन्दै त्यसै फर्किने गरेका छन् । विद्युत्का कर्मचारीको फोन स्वीच अफ हुने गरेकाले आफूहरुको सुनुवाइ नहुने गरेको स्थानीय दीपु चौधरीले बताउनुभयो ।  

 जेठ महीनाको उखरमाउलो गर्मी बढेका बेला लामो समयसम्म पनि विद्युत् नियमित हुन नसकेर सास्ती खेपीरहेका स्थानीय बासिन्दाले बिहीबार वडा कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् । जिल्लामा सबैभन्दा बढी मुक्त कमैया र विपन्न परिवारको घरको छाना उडाई क्षति पु¥याएको छ । 

 यसैगरी करोडौँको केराखेती, कुखुरापालन व्यवसायमा क्षति पुगेको कृषकले बताएका छन् । यद्यपि क्षतिको लगत सङ्कलन वडास्तरमा गठन भएको समितिले गरिरहेको छ । लगत सङ्कलन आउन ढिलाइ हुँदा पीडितले राहत पाउन सकेका छैनन् । 

प्रदेश सरकारले मृतकका परिवारलाई रु एक लाख ५० हजार, घरमा पूर्ण क्षति पुगेकालाई रु २० हजार र आंशिक क्षति पुगेकालाई रु १० हजार राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!