कुलत छोडेका व्यक्तिको पेटबाट चिकित्सकले निकाले एक किलो काँटी, पेच र छुरी

Posted on: 03 Oct, 2021

असोज १७, भिलनिअस | एजेन्सी | लिथुआनियामाका चिकित्सकहरूले एक व्यक्तिको पेटबाट काँटी , पेच र छुरी गरि १ किलो फलामजन्य सामान निकालेका छन् । शल्यक्रियाका क्रममा उनको पेटबाट सो परिमाणमा फलामजन्य सामान निकालिएको हो । बल्लतल्ला मदिराको कुलत छोडेका ती व्यक्तिले फलामका सामान खान थालेका थिए । 

अत्यधिक पेट दुःखेको बताएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । एक्सरे गर्ने क्रममा उनको पेटभित्र ठूलो परिमाणमा फलामका टुक्राहरु देखिएका थिए । केही टुक्राहरु १० सेन्टिमिटरसम्म लामा थिए ।

‘तीन घन्टाको शल्यक्रियापछि बिरामीको पेटबाट सम्पूर्ण धातुजन्य सामाग्री निकालिएको छ,’ उनको शल्यक्रियामा संलग्नमध्येका एक डा. सारुनास दैलिदेनसले भने । 

शल्यक्रियाबाट निकालिएको फलामका काँटी, छुरा र पेचलाई तस्विर तथा भिडियो खिच्न अस्पतालले स्थानीय सञ्चारकर्मी बोलाएको थियो । आफूले व्यक्तिको पेटबाट पहिलो पटक त्यति धेरै परिमाणमा सामान निकालेको देखेको क्लाइपेडा अस्पतालका चिकित्सक अलग्रिदास स्लेपाभिसिअसले बताए । 

मदिरा पिउन छोडेपछि ती व्यक्तिले एक महिनादेखि फलामकासामाग्री निल्ने गरेको चिकित्सकले बताएका छन् ।  शल्यक्रियापछि ती व्यक्तिको अवस्था स्थिर छ । उनको व्यक्तिगत पहिचान गोप्य राखिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!