सुनसरीमा १२ ओटा स्थानीय निकाय सिफारिस

Posted on: 29 Oct, 2016

कात्तिक १३, इटहरी । यहाँ शुक्रबार बसेको सर्वदलीय बैठकले सुनसरीको स्थानीय निकाय १२ वटा बनाउन सकिने सिफारिस गरेको छ । 

विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्षसहितको समिति बैठकले सुनसरीको स्थानीय निकायका रुपमा दुई उपमहानगरपालिका, चार नगरपालिका र छ गाउँपालिकाका रुपमा घोषणा गर्न सकिने सहमति सहितको सिफारिस गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी एवम् स्थानीय निकाय पुनःसंरचना सिफारिस समितिका संयोजक रामप्रसाद वाग्ले वाग्लेले जानकारी दिनुभयो । 

बकलौरी खोपयुक्त गाविस 

बकलौरी गाविसलाई शुक्रबार पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । अठार हजार जनसङ्ख्या भएको सो गाविसको इलाका स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा सो स्वास्थ्य चौकीलाई साढे १६ कट्ठा जमिन निःशुल्क प्रदान गर्ने समाजसेवी देवनारायण राजधामीले पूर्ण खोपयुक्त गाउँ घोषणा गर्नुभएको हो । 

जिल्लाका ११ गाविस पूर्ण खोपयुक्त घोषित भइसकेको छ । बकलौरी गाउँलाई पूर्ण खोपयुक्त बनाउनका लागि गाविस करुणा फाउन्डेसन जिल्ला जनस्वास्थ्य र स्थानीय महिला स्वयम्सेविकाको महत्वपूर्ण भूमिका रहेको थियो । सो अवसरमा ती सबै महिला स्वयम्सेवीलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । 

कार्यक्रममा करुणा फाउन्डेसनले भागवत चौधरीलाई कम्प्युटर र अपाङ्गता भएका धनञ्जय झालाई हिँड्न सजिलो बनाउने वाकर समेत हस्तान्तरण गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!