खेलाडीको सम्मानमा जोड : पौडेल

Posted on: 13 Sep, 2017

भदौ २८, इटहरी। नेकपा(एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले आगामी मंसिरमा संघ र प्रदेशको चुनाव हुन नदिन पर्दा पछाडिबाट विभिन्न प्रकारका षड्यन्त्रका खेल भइरहेको विचार व्यक्त गर्नुभएको छ । 

नेता पौडेलले आज इटहरी उपमहानगरपालिका– १० मा निर्माण गरिएको फुटसल खेल मैदानको उद्घाटनपछि देशमा संवैधानिक रिक्तता ल्याएर अस्थिरता पैदा गर्न खोज्ने षड्यन्त्रका विरुद्ध सबैले मिलेर पर्दाफास गर्न जरुरी रहेकामा जोड दिनुभयो । 

उहाँले अब सबै नेपाली मिलेर संविधानका पूर्ण कार्यान्वयनसँगै देशलाई समृद्ध पार्ने साझा अभियानमा एक ढिक्का भएर अघि बढ्न जरुरी छ भन्नुभयो । 

पूर्व युवा, खेलकुद तथा संस्कृतिमन्त्री पौडेलले नेपालको समग्र विकासका लागि खेल क्षेत्र महत्वपूर्ण भए पनि अझै सरकारले खेल क्षेत्रतर्फ पर्याप्त लगानी गर्न नसकेको अवस्था रहेको बताउँदै नेपाली खेलाडीले नेपालको गौरव राख्दै नेपालीका शिर उठाउने काम गरिरहेकाले तिनको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल फुटसल संघका केन्द्रीय सदस्य एवं लगानीकर्ता रिजाल परिवार सदस्य सिनेट रिजालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सांसद रेवतीरमण भण्डारी, उपमहानगर उपप्रमुख लक्ष्मी गौतम र फुटसल खेल मैदान संरक्षक विश्वप्रसाद रिजाललगायतले बोल्नुभएको थियो । 

एक सय चार फिट लम्बा तथा ५८ फिट चौडा भएको फुटसल खैदान रु ६५ लाखको लागतमा बनेको लगानीकर्तामध्येका विष्णु रिजालले जानकारी दिनुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!