शान्ति र समृद्धि नै मूल लक्ष्य : मुख्यमन्त्री शेरधन राई

Posted on: 06 Jun, 2018

जेठ २३, इटहरी | प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शान्ति र समृद्धि प्राप्ति नै अबको मूल उद्देश्य रहेकाले त्यसका लागि सबैले अझ मिहेनतपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभएको छ । 

डिभाइन ट्रेनिङ सेन्टर इटहरीले आज इटहरीमा आयोजना गरेको विशेष सम्मान समारोहमा बोल्दै उहाँले आर्थिक पारदर्शिता कायम गरी सुशासनबाट जनतालाई खुशी तुल्याउने मार्गमा आफू अहोरात्र क्रियाशील रहने प्रतिवद्धता जनाउनुभयो । जनताको चाहना, भावना र आवश्यकता एवं आकांक्षा पूर्ति गर्नु नै प्रदेश वा केन्द्रीय सरकारको समेत दायित्व रहेकोतर्फ आफूहरु सचेत रहेको पनि उहाँले उल्लेख गर्नुभयो । 

सो अवसरमा मुख्यमन्त्री राईसहित विभिन्न व्यक्तित्वलाई सम्मानित गरिएको थियो । 

सोही अवसरमा अर्का सम्मानित व्यक्तित्व विवेकशील साझा नेपाल पार्टीका संयोजक रवीन्द्र मिश्रले देशमा राजनीतिक परिवर्तन भएको झण्डै ३० वर्ष बितिसक्दा पनि असल राजनीतिक संस्कार विकास हुन नसकेको र राज्यद्वारा जनताले ढुक्क भएर विश्वास गरेर काम गर्ने वातावरण बन्न नसकेकाले यही अवस्था हो भने जनताले अर्को परिवर्तन खोजी गर्लान् भनेर सचेत रहनुपर्दछ भन्नुभयो । 

कार्यक्रममा अर्का सम्मानित व्यक्तित्व न्यूरो सर्जन डा यामबहादुर रोक्काले हरेक क्षेत्रले आफ्नो पेशाप्रति इमान्दार भई जनअपेक्षित विषयलाई केन्द्र भागमा राखेर काम गर्न सकियो भने मात्र जनविश्वास बढ्न सक्छ भन्नुभयो । 

डिभाइन ट्रेनिङ सेन्टरकी प्रेमवदा श्रीमालीले उहाँहरुलाई जनही रु ५० हजार नगदसहित सम्मानपत्रमार्फत सम्मान गर्नुभयो । 

आफ्नो विधामा उच्चतम सफलता हासिल गर्नुहुने व्यक्तित्वको योगदानको कदर गर्ने गरी इथियोपियाका कर्तव्यपरायण अग्रज नागरिक रोकास जिलिङ्कासको नाममा सो सम्मान स्थापना गरिएको हो ।(रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!