लागूऔषध कारोबारी र प्रहरीबीच झडप, ६ जना घाइते

Posted on: 30 Jan, 2017


माघ १७, सुनसरी । सुनसरीमा लागू औषध कारोबारी र प्रहरीबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना कारोबारी घाइते भएका छन भने तीन जना प्रहरी पनि घाइते भएका छन् ।

इटहरी उपमहानगरपालिका–१४ स्थित खनारको डिलमा भएको गोली हानाहानमा प्रहरीको गोली लागेर घाइते हुनेमा मोरङका श्रवण सरदार, सतन पासवान र सुनसरीका करिश्मा चौधरी रहेका छन् ।

उनीहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । घटनास्थलबाट चारवटा पेस्तोल र लागू औषध बरामद गरेको प्रहरीले जनाएको छ । खनारको डीलमा लागू औषध कारोबारीको समूह रहेको सूचना पाई गएको प्रहरीमाथि सो समूहले गोली चलाएपछि जवाफी कारवाही गरेको सुनसरी प्रहरीले जनाएको छ ।

पाँच दिन अघि सोही समूहले मोरङको कर्सियामा मोरङको कटहरीमा मुख्य कार्यालय रहेको वित्तिय संस्था जीवन विकास समाजका कर्मचारी ३५ बर्षीय घनश्याम बहरदार माथि दिउँसो १२ बजेतिर गोली प्रहार गरेर २ लाख बढी लुटपाट गरेको थियो । 

गोली प्रहार गर्ने मध्ये एक जनालाई प्रहरीले नियन्त्रण लिएको थियो । त्यसैगरी १ महिना अघि विराटनगरको रानीमा रहेको एक मनी एक्सचेञ्जका संचालक माथिपनि गोली प्रहर गरी ३ लाख रुपैयाँ लुटेको प्रहरीले बताएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!