सुनसरीमा बाढीका कारण ६ जनाको मृत्यु

Posted on: 12 Aug, 2017


साउन २८, सुनसरी । सुनसरीको इटहरीमा टेङ्ग्रा खोला र बुढी खोलामा बाढी आउँदा ६ जनाको ज्यान गएको छ । 

बाढीले बगाउँदा अहिलेसम्म इटहरीमा पाँच जना र तरहरामा एकजनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालयका अनुसार ६ जनाको शव भेटिएको छ ।  बाढीले इटहरी–३ गैरी गाउँका ३० वर्षकी माला साह, उहाँकी छोरी सिठी साह, भोजपुर घोरेटार घर भइ इटहरी–४ बस्ने माला राईका तीन वर्षका छोरा रुपेस राई र ८ वर्षकी रुपसनी राईको ज्यान गएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी घरमा पानी पसे पछि इटहरी–४ आइतबारेका ४० वर्षका ईश्वर सुनुवार र इटहरी–२० तरहरामा नाम खुल्न नसकेका अन्दाजी ७० वर्षका ज्यान गएको प्रहरीले जनाएको छ ।  

बाढीले बस्ती बगाएपछि हताहतीको संख्या थप बढ्ने अनुमान गरिएको छ । मोरङ र सुनसरी हुँदै बग्ने बुढी खोला, इटहरीको ट्याँग्रा खोला, मोरङको गछिया खोलामा बठुलो बाढी आएका कारण धेरै व्यक्तिको हताहती भएको हुनसक्ने अनुमान गरिएको छ । 

अहिले पुर्व क्षेत्रमा आकाशको पानी परिरहेका कारण उद्धार कार्यमा कठिनाई भएको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी उद्धार कार्यमा जुटेका छन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!