सुनसरीमा एकसय ५५ साक्षरता कक्षा

Posted on: 26 Jan, 2018

माघ १२, इनरुवा | सुनसरीमा एक साथ १५५ वटा साक्षरता कक्षा बिहीबारदेखि सञ्चालन भएका छन् । 

सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न छवटा गाउँपालिका, ४ वटा नगरपालिका र दुईवटा उपमहानगरपालिकामा गरी १५५ वटा साक्षरता कक्षा सञ्चालन भएको हो । 

जिल्ला शिक्षा कार्यालयको सहयोग र विभिन्न सामुदायिक सिकाइ केन्द्रको आयोजनामा अनौपचारिक शिक्षाअन्तर्गत साक्षरता कक्षा तथा निरन्तर सिकाइ कक्षा शुरु भएको सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिका, इटहरी र धरान उपमहानगरपालिका, बर्जु, गढी, हरिनगरा, भोक्राहा, कोशी तथा देवानगन्ज गाउँपालिकाका विभिन्न वडामा गरी १५५ स्थानमा निरन्तर सिकाइ कक्षा सञ्चालन भएको सुवेदीले बताउनुभयो । कक्षामा सहभागी हुने तथा कक्षा लिनका लागि आउनेलाई स्टेशनरी, पाठ्यपुतकसहितका शैक्षिक सामग्री वितरण गरेर कक्षा सञ्चालन गरेको हो । 

विभिन्न ठाउँमा २१ ओटा सामुदायिक सिकाइ केन्द्रमार्फत कक्षा आयोजना गरेको जिल्ला शिक्षा कार्यालय, सुनसरीले जनाएको छ । सुवेदीका अनुसार एउटा कक्षामा २० जनाका दरले जम्मा तीन हजार १०० भन्दा बढी मानिस सहभागी भएर साक्षर बन्नेछन् ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!