२४ बर्षीया महिला बलात्कृत, अर्धचेत अवस्थामा नग्न फेला

Posted on: 27 Aug, 2018

भदौ ११, इनरुवा (रासस) | सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् । 

शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्षीय ती महिलाको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिनुभयो । घटनाको प्रकृति हेर्दा ती महिलाको सामूहिक बलात्कार भएको उहाँले पुष्टि गर्नुभयो । 

मानसिक सन्तुलन ठीक नभएकी ती महिला अर्धचेत अवस्थामा नग्न फेला परेकी थिइन् । महिलालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताउनुभयो । नग्न अवस्थामा भेटिएकी किशोरीको शरीरमा लगाउने कपडा केही मिटर वर फेला परेको र कपडा च्यातिएको अवस्थामा भेटिएको स्थानीयवासीले बताएका छन् । 

अर्धचेत अवस्थामा रहेकी ती महिलाको योनीबाट रगत बगेको अवस्थामा भेटिएपछि जिल्ला अस्पताल इनरुवामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताउनुभयो । बलात्कार गरेको आशङ्कामा तीन जना युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!