सञ्चारमैत्री नीति बनाउँछौंः प्रवक्ता केसी

Posted on: 07 Jul, 2018

असार २३, सुर्खेत । कर्णाली प्रदेश सरकारले संचारमैत्री निती, कानुन तथा निर्माण गर्ने भएको छ । सरकारका प्रवक्ता एवम् भुमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मन्त्री विमला केसीले अब संचारमैत्री प्रदेश निर्माणका लागि सरकार लागि परेको बताएकी हुन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाल पत्रकार महासंघको केन्द्रिय समितिले आयोजना गरेको संचार निती र कानुन विषयक अन्तरक्रियामा बोल्दै मन्त्री केसीले सरकारले अन्य प्रदेशको तुलनामा संचारमैत्री निती तथा बजेट ल्याएको दाबी पनि गरेकी छन् । उनले सञ्चार क्षेत्रको विकासको लागि झण्डै २० करोड बजेट छुट्याईएको मन्त्री केसीले जानकारी दिइन् । मन्त्री केसीले अहिले दुई तिहाईको सरकार भएको भन्दै पत्रकारका समस्या सम्बोधन गर्न संविधान नै संशोधन गर्नुपरे पनि सरकार तयार रहेको ठोकुवा गरिन् । ‘पत्रकारहरुको साझा प्रतिवद्धता तथा छलफल भयो भने आवश्यक परेको खण्डमा संविधान संशोधन गर्न सकिन्छ’ मन्त्री केसीले भनिन् । महिला पत्रकारलाई संरक्षण गर्न पनि पुरुष पत्रकारलाई आग्रह मन्त्री केसीको छ । उनले पुरुषलाई महिला मैत्री बन्न आग्रह गर्दै महिला पत्रकारको सशक्तिकरणका लागि प्रदेश सरकार तयार रहेको पनि उल्लेख गरिन् ।

सार्वजनिक खरिद ऐनलाई प्रदेश सरकारले नयाँ ढंगले बनाउन सक्ने पनि बताइन् । हरेक कानुन केन्द्र सरकारको नभई प्रदेश सरकारले छुट्नै संचार नीती ऐन र संरचना बनाएर अघि बढ्नेमा सरकार स्पष्ट रहेको मन्त्री केसीको भनाई छ । ‘अब कर्णालीमा कमिसनको खेल समाप्त पार्ने गरी सरकार लाग्नेछ’ केसीले थपिन्, ‘विकासे बजेट दुरुपयोग गर्न विभिन्न गिरोह सक्रिय रहेकाले त्यस्ता गिरोहलाई सरकारले छुट दिने छैन् ।’ अन्तरक्रियामा बोल्दै सांसदद्वय करविर शाही र हिमबहादुर शाहीले पनि पत्रकारका समस्यालाई सम्बोधन गर्ने गरी संचार नीती बनाउन सरकारलाई सघाउने प्रतिवद्धता जनाए । अन्तरक्रियामा पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र, पुर्व कोषाध्यक्ष सुर्यमणी गौतम, केन्द्रिय सदस्य श्याम भट्ट, कलेन्द्र सेजुवाललगायत बोलेका थिए । अन्तरक्रियामा कर्णाली प्रदेशका विभिन्न संचारमाध्ययममा कार्यरत पत्रकारहरुको सहभागिता थियो ।

यसैविच, सुर्खेतस्थित नागरिक समाजसँग आवद्ध संघसंस्था तथा राजनितिक दलका प्रतिनिधीहरुले निष्पक्ष भएर समाचार संम्प्रेषण गर्न पत्रकारहरुलाई सुझाव दिएका छन् । वीरेन्द्रनगरमा पत्रकार महासंघ केन्द्रिय समितिले आयोजना गरेको मिडिया नागरिक अन्तरक्रियामा बोल्दै विभिन्न संघ संस्थाका प्रतिनिधीले यस्तो बताएका हुन् । उनीहरुले पछिल्लो समय मिडियाहरु राजनितीक दलको मुखपत्र जस्तो भएकाले समाचार सत्य, तथ्य र निष्पक्ष नभएको गुनासो गरेका छन् । मिडियाहरुबिच अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै उनीहरुले व्यक्तिविशेष नभई सामाजिक विषयलाई उठाएर समाचार सम्प्रेषण गर्न पनि आग्रह गरेका छन् । समाज परिवर्तनमा पत्रकारको भुमिका महत्वपुर्ण हुने उल्लेख गर्दै उनीहरुले पुर्वाग्रहरहित भएर काम गर्न पत्रकारलाई सुझाव दिएका छन् । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधी, समाज जागरण केन्द्र (स्याक) नेपाल, आवाज संस्था सुर्खेत, किडार्कका प्रतिनिधी, अधिवक्तालगायतले पत्रकारलाई निष्पक्ष भएर काम गर्न आग्रह गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!