कर्णालीलाई सेल्फी जोन बनाउछौं– मुख्यमन्त्री शाही

Posted on: 25 Jul, 2018

साउन ९, सुर्खेत | कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेशलाई सेल्फी जोन बनाउने उद्घोष गर्नु भएको छ । नेपाल पर्यटन पत्रकार मञ्च कर्णाली प्रदेशले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहीले यस्तो कुरा बताउनु भएको हो ।

कर्णाली प्रदेशमा प्राकृतिक, सास्कृतिक र धार्मिक सम्पदाहरुको खानी भनेर भजन किर्तन गर्ने मात्र भन्दा पनि अब यी सम्भावित क्षेत्रको सम्वर्धन तथा प्रवर्धन गर्ने बेला आएको मुख्य मन्त्री शाहीले बताउनु भएको छ । यसको उदाहरणस्वरुप कर्णाली सरकारले पहिलो अभियान स्वरुप २०७५ लाई कर्णाली पर्यटन बर्ष घोषणा गरेको    बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहीले स्वीजरल्याण्डमा सडक विजुलीको सेल्फी खिच्न पर्यटक ओहिरिए झै अब नेपालको कर्णाली प्रदेशमा भेडा, च्यांग्रा, याक, घोडा, हिमाल, झरना, बन जंगल संग सेल्फी खिच्न पर्यटकहरु ओहिरिने बातावरण बनाईने बताउनु भएको छ । यसका लागि पर्यटन सम्भावना क्षेत्र अध्ययन गरी त्यसै अनुरुपको कार्यक्रम अगाडी बढाउन प्रदेश सरकार लागिपरेको बताउनु भयो ।


नेपाल पर्यटन मञ्च कर्णाली प्रदेशका अध्यक्ष अशोक सिंहको अध्यक्षता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रमुख आथित्यता, कर्णाली प्रदेश उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री नन्दसिंह बुढाको विशेष आथित्यतामा आयोजित कार्यक्रममा कर्णाली प्रदेशमा पर्यटन विकासका सम्भाब्य क्षेत्र यसको अवस्था र पर्यटन प्रवर्धनका लागि थालिनु पर्ने अभियानबारे सम्भाब्यता अध्ययन पत्र समेत प्रस्तुत गरिएको छ ।

सम्भाब्यता अध्ययन पत्र प्रस्तुत गर्दै कार्यक्रममा हरिहर न्यौपानेले कर्णालीमा विभिन्न साहसिक खेल, घोडा सवारी, जल यात्रा, प्यारागलाडिङ, धार्मिक तथा सास्कृतिक पर्यटन तथा पदमार्गको सम्भावना रहेको बताउनु भएको छ । कर्णालीमा अहिले सम्म ९२ वटा पर्यटकिय क्षेत्र पहिचान भएको भन्दै अब नयाँ क्षेत्रहरुको खोजी गर्नुपर्ने न्यौपानेले बताउनुभयो ।

कार्यक्रममा बोल्दै विशेष अतिथि पर्यटन मन्त्री बुढाले कर्णाली पर्यटन विकासका लागि कर्णाली प्रदेश सरकारले बृत्तचित्र निर्माण गर्न तयारी अवस्थामा रहेको बताउनु भएको छ ।

यस्तै नेपाल पर्यटन पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष धनिराम शर्माले पर्यटन गन्तब्यको खोज अध्ययनमा नेपाल विश्वको टप वान मा पर्न सफल भएको र यसमा पनि प्रमुख गन्तब्य कर्णालीको कर्णाली क्षेत्र रहेकाले यस गन्तब्यलाई सहि र सार्थक तुल्याउन सम्बन्धीत सरोकारवालाहरुले मुख्य भुमिका खेल्न पर्ने र यसको प्रवर्धनका लागि   नेपाल पर्यटन पत्रकार मञ्चले सदैव र्पैरवी गर्न प्रतिवद्ध रहेको बताउनु भएकोछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!