काँक्रेविहार पुनर्निर्माणमा तिव्रता, ६५ प्रतिशत निर्माण सकियो

Posted on: 26 Jun, 2018

असार १२, सुर्खेत | दोस्रो लुम्बेनीका रुपमा हेरिएको पश्चिम नेपालकै बहुचर्चित पुरातात्विक स्थल काँक्रेविहारको पुनःनिर्माणमा तिव्रता दिइएको छ । निर्माणको निर्धारित समय सिमा सकिए पनि निर्माण कम्पनीले काँक्रेविहार स्थलमा छरिएका ढुंगाहरुको आकार मिलाउन प्रयाप्त मुर्तिकारहरु नहुँदा पनि कामलाई तिव्रता दिइएको हो ।

पुरातत्व विभागले नै काँक्रेविहार पुनःनिर्माणका लागि बजेट र योजना स्वीकृत गरेपछि हाल छरपस्ट रहेका काँक्रेविहारका भग्नाशेषबाट शिखरशैलीको विहार पुनर्निमाण जारी छ । बहुवर्षिय योजना अन्तरगर्त पुनर्निर्माणको लागि विभागले भ्याट बाहेक ९ करोड ६५ लाख ६६ हजार ६४१ बजेट विनियोजन गरिएको थियो । पुनर्निर्माणार्थ २०७४ साल जेठ मसान्तसम्म निर्माण गर्ने भन्दै सिद्धबाबा कन्स्ट्रक्सन प्रा.लि.ले जिम्मा लिएको थियो । हालसम्म काँक्रेविहार पुनर्निर्णाणको ६५ प्रतिशत काम सकिएको छ । काँक्रेविहार क्षेत्रको पर्खाल र उत्तर–दक्षिणमा गेट निर्माणको काम सकिएको छ । तर मुख्य गेट निर्माणमा बुट्टा भर्ने काम भने जारी छ । काँक्रेविहार भग्नावशेषको ०५७ सालमै उत्खनन गरी दुई हजार २८ वटा पुरातात्विक वस्तुहरु निकालिएको थियो । उत्खनन स्थलमा पुरातत्व विभागले २०६१ सालमै शिखर शैलीको मन्दिर बनाउन काम शुरु गरेपनि ०७२ सालदेखी पुनर्निर्माणको काम थालिएको थियो । 

गतवर्ष तोकिएको समयमा नसकेपछि विभागले चालु आर्थिक वर्षको जेठ मशान्तसम्म काम सक्नेगरी पहिलो पटक म्याद थप गरेको मध्यपश्चिम क्षेत्रीय संग्रालय सुर्खेतले जानकारी दिएको छ । मूर्तिका बुट्टा कुँद्ने कालिगडहरु नहुनु र सामग्री बाहीरबाट ल्याउनु पर्ने बाध्यताका कारण पुनर्निमाणमा केही ढिलाई भएको पनि कार्यालयको भनाई छ । प्रादेशीक स्तरको अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययनका लागि सुर्खेत आएका संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले काँक्रेविहारको पनि स्थलगत अवस्था बुझेका थिए ।  मन्त्री अधिकारीले तत्काल काम अघि बढाएर सक्न निर्देशन दिएर फर्किएका थिए । पहिलो पटक थप भएको समयमा पनि काम नसकिएपछि मन्त्री अधिकारी, विभाग र कम्पनीको सहमतिमा दोस्रो पटकका लागि म्याद थप गरिएको छ । आगामी माघ मशान्तसम्म काँक्रेविहारको पुनर्निर्माण सक्ने गरी म्याद थप भएको मध्यपश्चिम क्षेत्रीय संग्रालयको भनाई छ । 


सिद्धबाबा कन्ट्रक्सनले प्रालिले भने सरकारी पक्षकै ढिलाईका कारण समयमै बिहार बन्न नसकेको कम्पनीका प्रमुख दिपक कार्कीले जानकारी दिए । जनशक्ति अभाव र सामग्री बाहीरबाट ल्याउँदा केही ढिलाई भएको स्वीकारेका उनले कम्पनीले सबै तयारी पूरा गर्दापनि  जडान गर्नेबेला पुरातत्व विभागको वेवस्ताका कारण ढिलाई भएको दुखेसो पोखे । बिहारको पुरानो संरचना कस्तो थियो भन्ने एकिन चित्र नहुँदा संरचनालाई पूर्ण बनाउन अर्को मन्दीरको आकृति हेर्न विभागले नलिएको कार्कीको भनाई छ । काँक्रेविहार पुनर्निर्माण गर्नुपूर्व गरेको टेन्डरमा भारतको विहारमा बनेका शिखर शैलीको मन्दीर अवलोकन गर्न ६ लाख बजेट छुट्टयाइएको थियो । तर विभागले अहिलेसम्म भम्रणका लागि निर्माण कम्पनीले लिएको छैन् । ‘हामीलाई भारतमा देखाउने भनिएको मन्दीर देखाउन विभागबाट ढिलाई भएको छ’ कार्कीले भने, ‘यदि भम्रण नै नगराएर विभागले स्टिमेट दिए दशैँसम्म काम सम्पन्न गरेर हस्तान्तरण गर्न सक्छौं, तर हामीले न भम्रणको लागि जानकारी पाएका छौं न काँक्रेविहारको अन्तिम स्वरुपका लागि स्टिेमट नै पाएका छौं  ।’ पुरातत्व विभागले १८ वर्षदेखि उत्खनन गरी मूर्ति र बुट्टा कुँदिएका ढुंगालाई संकलन गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!