कर्णालीमा उत्तरी नाका सञ्चालनमा ल्याउन जोड

Posted on: 04 May, 2018

वैशाख २१, सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतका उद्योगी व्यवसायीले सुर्खेतमा आन्तरिक राजश्व तथा कर कार्यालयको स्थापना गर्नेसँगै कर शिक्षा प्रणाली व्यवस्थित बनाउनुपर्ने माग गरेका छन् । आर्थिक वर्ष २०७५/७६ को बजेट तथा राजश्व निती कार्यक्रमको सम्बन्धमा वीरेन्द्रनगरमा भएको छलफल तथा अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन् ।

नेपाल सरकार अर्थ मन्त्रालय राजश्व परामर्श समितिले आयोजना गरेको कार्यक्रममा व्यवसायीहरुले उत्तरी नाका खोल्नुपर्ने कामलाई पनि आगामी बजेटमा प्राथमिकतामा राखिनुपर्ने उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले जोड दिए । प्रदेशमा  राजश्व संकलन गर्ने ठाउँ नभएकाले तत्काल उत्तरी नाका सञ्चालन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी अन्य व्यवसायीहरुले पनि राजश्व परामर्श समितिलाई न्युन भन्सार कर घोषणातर्फ पनि ध्यान दिनुपर्ने सुझाव दिएका छन् । यस्तै, सुन चाँदी व्यवसायीहरुले सुर्खेतमा मात्र नभई कर्णालीका सबै जिल्लामा सुनचाँदी व्यवसायी संघ गठन गरिनुपर्ने पनि माग गरेका छन् । कर्णाली प्रदेशमा उद्योगहरुको स्थापना गर्न सहजताका लागि आयकर छुटको व्यवस्था गरिनुपर्ने माग पनि उनीहरुको छ ।

कार्यक्रममा बोल्दै राजश्व परामर्श समितिका सचिव शिशिर कुमार ढुंगानाले सबै व्यवसायीका सुझावलाई सम्बोधन गरिने प्रतिवद्धता जनाए । उनले कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा आन्तरिक राजश्व तथा कर कार्यालय स्थापना गर्ने काम पनि अन्तिम चरणमा पुगेको बताए । सचिव ढुंगानाले कर शिक्षालाई व्यवस्थित गराउनेतर्फ पनि आफूहरुको ध्यान जाने प्रतिवद्धता जनाए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!